काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न निस्किएका छन् । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवासहितको टोली विहीबार विहान ८ बजे काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएको हो । टोली प्रधानन्त्रीको सरकारी निवास बालुवाटारबाट सिधै सुर्खेत जाने छ ।
प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पु¥याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिनेछन् ।
प्रधानमन्त्री देउवा सम्भव भएसम्म आजै कर्णाली प्रदेशमा पनि पुग्ने कार्यक्रम तय भएको छ ।
सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भ प्रधानमन्त्रीले बिफ्रिङ लिने छन् । त्यसपछि प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल प्रस्थान गर्नेछ । दिपायलमा बिफ्रिङ तथा अवलोकन गर्ने कार्यक्रम छ । दिपायलबाट प्रधानमन्त्रीको टोली बझाङतिर लाग्ने छ । त्यहाँ पनि बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम छ ।
बझाङबाट प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरा प्रस्थान गर्ने छन् । त्यहाँ पनि बिफ्रिङ र अवलोकन गर्ने छन् । त्यसपछि प्रधानमन्त्रीको टोली कञ्चनपुर प्रस्थान गर्ने छ । कञ्चनपुरमा पनि बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम छ । कञ्चनपुरको अवलोकनपछि प्रधानमन्त्रीको टोली कैलाली जाने छ ।
कैलालीको अवलोकनपछि प्रधानमन्त्रीको टोली धनगढी बास बस्ने छ । देउवाको टोली शुक्रबार बर्दिया र बाँके हुँदै मात्रै काठमाडौं फर्किने छ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा व्यापक जनधनको क्षति भएको छ ।
सरकारले बाढी पहिरोबाट मृत्यु भएकाका परिवारलाई २ लाख र घर क्षति भएको भए ५ लाखसम्म राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । यस्तै घाइतेहरुको उपचार निःशुल्क हुनेछ ।
देउवाको प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृह प्रदेश सुदूरपश्चिमको भ्रमण हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण तालिका