June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

नेपाल वायुसेवा निगमलाई माथि उठाउनेतिर लाग्छु: मन्त्री प्रेम आले

2.5K

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने बताए ।

आलेले अनुगमनको क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यहाँका पसलले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गर्ने बताए ।

मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेको विषयमा नेपाल वायुसेवा निगमका निर्देशकलाई लिखित जवाफ माग गरेको पनि बताए ।

Advertisement

आइतबार छुटेका यात्रुलाई पनि मन्त्री आलेकै निर्देशनमा सोमबार गन्तव्यमा पु¥याइएको छ । मन्त्री आलेले नेपाल वायुसेवा निगमलाई हवाई टिकटका लागि ई–टिकेट (अनलाइन) को व्यवस्था गर्न निर्देशन दिएकाले निकट भविष्यमै ई–टिकेट सञ्चालन हुने विश्वास दिलाए ।

त्यसैगरी मन्त्री आलेले आफू पदमा रहुञ्जेलसम्म नेपाल वायुसेवा निगमलाई माथि उठाउन लाग्ने बताए । अवका दिनमा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले कुनै पनि समस्या भोग्नु नपरोस् भनेर मन्त्री आलेले कर्मचारीलाई निर्देशन पनि दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साँघुरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखारा, भैरहवा, विराटनगरलगायतका विमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको बताए ।