काठमाडौ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ च्याम्पियनसिपको फाइनल खेलमा निलम्बित भएका छन् । यसअघिका श्रीलंका र बंगलादेशविरुद्ध चौथो र नवौँ खेलमा दुईवटा पहेँलो कार्ड पाएको भन्दै अलमुताइरी फाइनल खेलका लागि निलम्बित भएको साफले जनाएको छ ।
अलमुताइरीले भने साफले आफूमाथि व्यक्तिगत रिसिइबी साँधेको आरोप लगाएका छन् । आफूलाई कारबाही गर्न कै लागि नियम परिवर्तन गरिनु निष्पक्ष र न्यायपूर्ण नदेखिएको बताउदै आफूलाई नभइ नेपाली फुटबललाई कारबाही भएको उनको भनाइ छ ।
साफको नियमावलीमा दुईवटा पहेँलो कार्ड पाएका खेलाडीमाथि मात्र अर्को खेलमा निलम्बन हुने नियम रहेको उनको तर्क छ । यो नियम अफिसियलको हकमा रातो कार्ड खाएको अवस्थामा लागू हुने उनको भनाइ छ ।
यस्तो छ नियमावली
‘आफ्नै नियमलाई पालना नगर्ने हो भने किन राखेको ?,’ उनको प्रश्न छ । माल्भ्सिविरुद्धको खेलमा भारतीय प्रशिक्षकले रातो कार्ड खाएर फाइनलमा उपस्थित हुन नपाउने भएपछि नेपालका प्रशिक्षकलाई पनि बाहिर राख्नका लागि यस्तो षड्यन्त्र गरिएको पनि अलमुताइरीले गम्भीर आरोप लगाए ।
साफलाई नेपालले निकालेको नतिजा मन नपरेको र यदि आफू मैदानमा भएँ नेपालले उपाधिका लागि अन्तिमसँग लड्छ भनेर यसो गरेको हुन सक्ने उनको भनाइ छ ।
नेपालले निलम्बनविरुद्ध एएफसीलाई पुनःमूल्यांकनका लागि पत्र पठाएको भए पनि एएफसीले पनि साफकै निलम्बन लागू हुने बताएको छ ।