काठमाडौ । सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा. नारायण खड्का आज स्वदेश फर्किएका छन् ।
मन्त्री खड्काले स्वदेश फर्किएलगत्तै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा सो बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उक्त बैठक र आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको बताए ।
सयभन्दा बढी असंलल्न आन्दोलनका सदस्य राष्ट्रको सहभागिता रहेको उक्त समारोहमा परराष्ट्रमन्त्री डा. खड्काले असोज २५ गते सम्वोधन गर्दै असंलग्न आन्दोलन मञ्चलाई वर्तमान विश्वमा देखा परेका बढ्दो जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तिय जोखिम, भूराजनीतिक जटिलता र हातहतियारको होडबाजी लगायतका विषयलाई जोडदार रुपमा आवाज उठाएको जानकारी दिए । वैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य सङ्कट र कोभिड–१९ को महामारीले ल्याएका चुनौती जस्ता विषय समेत उठान गरेको बताए ।
साथै असंलग्न आन्दोलनको स्थापनाकालदेखि नै नेपाल त्यसको सदस्यको रुपमा सक्रिय रहँदै आएको र असंलग्नताको सिद्धान्तलाई नेपालको संविधानले प्रमुख नीतिको रुपमा अंगीकार गरेको विषयलाई पनि आफूले राखेको जानकारी दिए ।
त्यसैगरी सम्मेलनमा बहुपक्षीय संस्थाहरु जस्तै संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय वित्तिय संस्थाहरुको काम गर्ने तरिकामा संरचनागत सुधार गरी आमूल परिवर्तन गर्न आन्दोलनले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेको मन्त्री डा. खड्काको भनाइ छ । उनले वैठकमा गरिबी, असमानता र अभावबीचमा बाच्न बाध्य भएका विकासोन्मुख मुलुकहरुबीच वास्तविक सहकार्य गर्दै मुक्ति दिलाउन दक्षिण–दक्षिण मुलुकबीच वास्तविक हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरेको जानकारी पनि सो अवसरमा दिए ।
उक्त वैठककै क्रममा महत्वपूर्ण द्विपक्षीय भेटघाट गरेको र ती भेटबाटहरु नेपालका लागि महत्वपूर्ण रहेका पनि मन्त्री डा खड्काको भनाई छ ।
गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का यही असोज २२ गते बेलग्रेड प्रस्थान गरेका थिए ।
बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो ।