काठमाडौ । मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
प्रहरीका अनुसार २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ४ जनाको उपचारको क्रममा मृत्यु भएको हो । उपचारको लागि १६ जनालाई अस्पताल पठाइएको थियो ।
१६ जना पुरूष, ७ जना महिला र १ जना बालकको घटनास्थलमै मृत्यु भएको थियो । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको उनले प्रहरीले जनाएको छ । एकजना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ भने उनको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ३ जना गाडीबाट हाम फालेका थिए भने २ जना दुर्घटना हुनुभन्दा केही समयअघि नै ओर्लिएको बुझिएको छ ।
सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा परेको थियो ।