June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

मन्त्रीहरू रक्सी खाएर माते भन्ने सुन्नु नपरोस्: माधव नेपाल

2.1K

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट नियुक्त मन्त्रीलाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा बोलाएर इमान्दारिता र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका छन् ।

नेपालले मन्त्रीहरुलाई निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट मुक्त रही राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दूमा राखेर काम गन निर्देशन दिए । त्यसैगरी कुनै पनि संस्थामा व्यक्तिको छनोट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए ।

‘तपाईँहरूले इमान्दारीताका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ । इमान्दारीता र कर्तव्यनिष्ठाको भावनालाई सर्वोपरी राखेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा तपाईहरुको ध्यान म आकर्षित गर्न चाहन्छु । काम गर्दाखेरि राष्ट्रको हितलाई र जुन संस्थाको जिम्मवारी तपाईहरुले सम्हालिरहनुभएको छ । त्यो संस्थाको हितलाई केन्द्रबिन्दूमा राखेर, अनि जनताको हितलाई केन्द्रबिन्दूमा राखेर तपाईहरुले काम गर्नु हुनेछ । यस अर्थमा राष्ट्रको हित, जनताको हित र संस्थाको हितलाई तपाईहरुले केन्द्रबिन्दूमा राखेर काम गर्नुपर्ने हुन्छ’, उनले भने, ‘काम गर्दाखेरी निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट तपाईहरु मुक्त हुनुपर्छ । त्यो बाट टाढा रहनुपर्छ । आफ्नो योग्यता र क्षमता, कार्यसम्पादनमा उत्कृष्टताको आधारमानै कुनैपनि व्यक्तिको छनौट गर्ने र जिम्मेवारी दिने कुरामा तपाईहरु लाग्नुहुनेछ । र यसरी व्यक्तिको छनौट आफु खुशी होइन, ती व्यक्तिको योग्यताको पक्ष सुनिश्चित हुनेगरी व्यक्तिको छनौट गर्नुहुनेछ र जिम्मेवारी दिनु हुनेछ ।’

Advertisement

मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुनु नहुनेमा पनि नेपालले जोड दिए । पदीय मर्यादा र गरिमा विपरितका काम नगर्न उनले निर्देशन दिए । कुनै पनि प्रकारका दूव्र्यसन र आचरणसँग जोडिने काम नगर्न उनले निर्देशन दिए । उनले गठबन्धनको भावना अनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न अनुरोध गरेका छन् । मन्त्रीहरुको सल्लाहकार, पिए लगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्नुपर्ने उनको भनाई छ ।

‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरु तपाईहरुबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ । यो मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलुका बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टसँग बसेर यिनै कुरा गरिरहेका छन् भन्ने कुरा सुन्नु नपरोस्’ ! सिधा कुरा, रक्सी खाने बानि छ भने पनि बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरू तपाईहरुबाट नहोस् । यस कुरामा म जोड दिन चाहान्छु ।’, अध्यक्ष नेपालले भने ।

त्सैगरी पार्टीले दिएको जिम्मेवारी समन्वयमा हुनुपर्नेमा पनि अध्यक्ष नेपालको जोड थियो । ‘पार्टीको नेतृत्व र पार्टीले दिएको जिम्मेवारी दिएको विभागसँग काममा समन्वय गर्नुहुनेछ । पार्टीको निर्देशन र सल्लाहलाई केन्द्रबिन्दूमा राखेर तपाईँहरुले काम सम्पन्न गर्नुहुनेछ । विज्ञ र अनुभवीहरुसँग नियमित रुपमा राय, परामर्श लिने चलन बसाल्नुपर्छ। तपाईँहरूले पाँच दलीय गठबन्धनको भावना अनुरुप अरु दलसित समेत सहकार्य गर्नेगरी आफ्नो कार्यसम्पादन गर्नुपर्ने हुन्छ । सांसदहरू र पार्टीका विभिन्न क्षेत्रका कार्यकर्ताहरुसँग जीवन्त सम्पर्क राख्नुपर्छ । पिएहरू नियुक्त गर्दा पार्टीले नै सबैको परामर्शको आधारमा, सल्लाहकारहरू नियुक्त गर्दाखेरि पार्टीका परामर्शका आधारमा, अन्य जोडिएका अनेक पक्षहरू हुन्छन् ती सबै आफू खुशी, आफ्नो ढंगले गर्ने होइन, त्यस सम्बन्धमा पार्टीको परामर्शको आधारमा चल्ने ।’, अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुमाथि अगाडि नै सामुहिक रूपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताए ।
सिंगो मन्त्रिपरिषद्ले गर्ने निर्णयको जस अपजसको भागिदार सबै मन्त्री हुने उल्लेख गर्दै उनले मन्त्रिपरिषद्का विषयवस्तुहरू पार्टीलाई समेत जानकारी गराई, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनुपर्ने उनले बताए ।