May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

मन्त्रिपरिषद विस्तारका लागि दलहरुले तयारी गर्दै

320

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरू मन्त्री बन्नेहरुको नामबारे टुंगो लगाउन आज छलफलमा जुट्दै छन् । आज बेलुकासम्ममा मन्त्री बन्नेको नाम टुङ्गो लगाएर भोलि घटस्थापनाको दिन मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी रहेको छ । मन्त्रीको नाम टुङ्गो लगाउन उनले आज आफ्नो दलमा छलफल गर्ने तयारी गरेका छन ।

त्यस्तै माओवादी केन्द्रले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्रमा मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । तर, मन्त्रीका आकाङ्क्षी धेरै हुँदा प्रचण्डलाई मन्त्री बन्नेको नाम टुङ्गाउन निकै सकस भएको छ ।

त्यस्तै, एकीकृत समाजवादी र जसपा पनि आज छलफलमा जुट्दै छन् । जसपाले मन्त्रीहरूको नाम टुङ्गो लगाउन आज कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

Advertisement

यसअघि सत्ता गठबन्धनबीच हिजो मन्त्रालयको भागबन्डाको विषयमा सहमति भैसकेको छ । योसंगै आज बेलुकीसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ ।

दलहरुबीचको सहमतिअनुसार अहिले गृह, परराष्ट्र र कानुन मन्त्रालय लिइसकेको नेपाली कांग्रेसले अब सञ्चारसहित चार वटा मन्त्रालय लिनेछ । त्यस्तै, अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको माओवादी केन्द्रको भागमा ६ वटा मन्त्रालय परेको छ भने नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाको भागमा चार÷चार मन्त्रालय परेको छ ।

अहिले कांग्रेससँग रहेको कानुन मन्त्रालय एकीकृत समाजवादीलाई दिने सहमति बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अतिरिक्त एक मन्त्रालय राखेका छन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कोटाका लागि प्रधानमन्त्री देउवाले एक मन्त्रालय राखेको अनुमान गरिएको छ । तर, यसबारे पुष्टि भने भैसकेको छैन ।