काठमाडौं : चार पूर्व प्रधानन्यायाधीशविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले मागदाबी नपुग्ने फैसला सुनाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले चार पूर्व प्रधानन्यायाधीशविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको हो। सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले मुद्दामा गरिएको मागदाबी नपुग्ने फैसला सुनाइएको जानकारी दिए।
पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै संयुक्त वक्तव्य दिएका थिए।
संसद विघटनको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेका बेला चार पूर्वप्रधानन्यायाधीशले आफ्नो धारणा सार्वजनिक गरेका थिए। कुमार शर्माले गत माघ १३ गते अवहेलना मुद्दा दर्ता गरेका हुन्।