February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

राजनीतिक काेटामा नियुक्त भएका राजदूत फिर्ता बोलाउने सरकारकाे निर्णय

1.8K

काठमाडौं : सरकारले केपी शर्मा ओली सरकारले राजनीतिक कोटामा नियुक्त गरेका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सरकारको राजदूत फिर्ता बोलाउने निर्णयसँगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुनेछन्।

फिर्ता हुने अन्य राजदुतहरुमा महेन्द्रबहादुर पाण्डेय (चीन), डा. वंशीधर मिश्र (बंगलादेश) , नारदमुनि भारद्वाज (कतार),अञ्जान शाक्य (इजरायल)  उदयराज पाण्डे (मलेसिया) दावाफूटी शेर्पा (स्पेन)डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका) नीलाम्बर आचार्य (भारत) शर्मिला ढकाल पराजुली (ओमान) र प्रतिभा राणा (जापान) गरी कुल १२ जना छन्।

Advertisement

यस्तै बैठकले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ।

कोभिड–१९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने र संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए।

यस्तै कर्णाली करिडोर अन्तर्गत  सल्लीसल्ला–सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किलोमिटर र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ किलोमिटर सडकखण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।