काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। मन्त्रिपरिषदलाई पूर्णता दिने भनिए पनि दलबीच सहमति जुट्न नसकेपछि बिनानिष्कर्ष बैठक टुंगिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच मंगलबार बिहान झण्डै दुई घण्टा छलफल भएको नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य डा. वेदुराम भुषालले जानकारी दिए। केही दिनदेखि सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे छलफलमा व्यस्त रहेको गठबन्धनले आज पनि थप छलफल गरेको उनले बताए।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता रहेको थियो।
गठबन्धनमा आवद्ध दलबीच आज मन्त्रालयको भागबण्डा टुंग्याउने र भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ। मन्त्रालयको भागबण्डा टुंग्याउन गठबन्धनबीच आज दिउँसो पनि छलफल गर्ने बताइएको छ।