May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

सत्तारुढ गठबन्धनको बैठक : मन्त्रिपरिषदलाई बुधबारसम्ममा पूर्णता दिने सहमति

1.1K

काठमाडौं- सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरु मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले बुधबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुनुपर्ने बताएका छन् ।

यद्यपि मन्त्रालय भागवण्डाबारे छलफल नभएको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए । एक नेताका अनुसार मन्त्रालय भागबण्डाबारे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुनेछ । यसैगरी बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले शीर्ष तहमा मन्त्रालय टुंगो लगाउने र मन्त्रिपरिषदलाई छिटो पूर्णता दिने सहमति भएको छ ।

गठबन्धन सरकारले बजेट सच्याउने भएको छ । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक बर्ष ०७८ / ०७९ को बजेट सच्चाउने निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका हुन् । गठबन्धनका नेताहरुले दिएको सुझावमा प्रधानमन्त्री सकारात्मक भएको र चाँडै प्रक्रिया थाल्ने जनाएको बुझिएको छ ।

Advertisement

‘बजेट सच्चाउने र मन्त्रिमण्डललाई पूर्णता दिने बारेमा छलफल भयो । सम्भवत : बुधबार मन्त्रिमण्डलले पूर्णता पाउँछ’ बैठकपछि डा. विजय पौडेलले भने, ‘कोभिड नियन्त्रणमा सरकारलाई प्रभावकारी काम गर्न हामीले सुझाव दिइएका छौ ।’ साथै बैठकमा बुटवल–नारायणगढ सडकको तत्काल स्तरोन्नती गर्न पनि सरकारलाई गठबन्धन दलले सुझाव दिएका छन् ।