काठमाडौं- नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । नयाँ दल दर्ता भएपछि आज (आइतबार) बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।
‘कुनै पार्टीसँग तत्काल एकता गर्दैनौं, कसैको टाङमुनि छिर्दैनौंं’
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले नै कुनै पार्टीसँग एकता सम्भव नरहेको स्पष्ट पारेका छन् । एमालेबाट विभाजित भएर बनेको नयाँ पार्टीको पहिलो संसदीय दलको बैठकलाई आइतवार बानेश्वरमा सम्बोधनका क्रममा अध्यक्ष नेपालले यसो भनेका हुन् ।
‘देशभरी हाम्रो संगठन बनिसकेको छ । अहिले नै कुनै पार्टीसँग हामी एकता गर्न गइरहेका छैनौं’, नेपालले भने, ‘हामी कसैको टाङमुनि छिर्न जाँदैनौं । हामी अरु पार्टीको कार्यकर्ता हुन जाँदैनौं ।’ नेता नेपालले आफ्नो पार्टीको संगठन देशभरी रहेको बताए । ‘हाम्रो संगठन देशभरी छ, जिल्लादेखि गाउँ, वडा र टोलसम्म हाम्रो संगठन बनिसकेको छ’, नेपालले भने, ‘हाम्रो उपस्थिति टोल टोलमा रहेकाले त्यसबाट हामी संगठन बलियो बनाउँछौं ।’