May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

‘नयाँ पार्टी खोल्नु रहर थिएन, ओलीको व्यवहारले विद्रोहको विकल्प रहेन’

1.9K

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्नु बाध्यता भएको बताएका छन् । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पहिलो पत्रकार सम्मेलनमा नव गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अहंकार र व्यक्तिवादी व्यवहारका कारण एमालेमै रहनसक्ने अवस्था नरहेको बताए । अध्यक्ष नेपालले आफूलाई छाडेर जानेहरुले त्यसबेला नै नयाँ पार्टी दर्ता गराएको खुलासा गरेका छन् । उनले अहिले विभिन्न कारणले उनीहरु आफूहरुसँग आउन नसकेको बताए । नयाँ पार्टी दर्ता गरेपछि आज (बिहीबार) काठमाडौंमा पहिलो पत्रकार सम्मेलन गर्दै उनले बताएका हुन् ।

नव गठित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको पहिलो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै । तस्विर : प्रदीपराज वन्त

‘हाम्रो साथ छाडेका साथीहरुले नयाँ पार्टी दर्ता त्यसबेला नै गरिसकेका थिए’, उनले भने, ‘ओलीले पार्टीलाई निजी कम्पनीमा ढालेपछि, जनताका एजेण्डालाई तिलाञ्जली दिएपछि त्यसका विरुद्धमा विद्रोह गर्ने बाहेक विकल्प भएन । इतिहासमा यस्तो धेरै भएको छ । समूहमा र पार्टीमा यस्ता विद्रोह भएका छन् । ठूलो पंक्तिले ओली समूहबाट विद्रोह गर्नुभएको छ । हामीले उतिबेलै पार्टी खोल्न सक्थ्यौं । हामी जनताबाट निर्वाचित भएका कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो । संघीय संसदको हकमा सोच्नु पथ्र्यो ।’

Advertisement

अध्यक्ष नेपालले हिम्मत नभएकाहरु थन्किएर बस्ने बताएका छन् । आफूले नयाँ पार्टी बनाउँदै गर्दा दोस्रो पुस्ता भनिएकाहरुले छाडेर गएको सन्दर्भमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपाल पक्षमा लागेका १० जना स्थायी कमिटी सदस्यहरु नयाँ पार्टी बनाउने कुरामा असहमति जनाउँदै एमालेमा नै फर्किएका छन् । ‘हिम्मत नभएका थन्किन्छ्न, क्रान्तिकारी चेत भएकाहरु नयाँ आन्दोलनमा जुट्छन्’, उनले भने, ‘हामी कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै क्रान्तिकारी बनाउने महत्वपूर्ण पाइला चालिरहेका छौं ।’