March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

एमाले समाजवादी सनाखत हुना साथ मन्त्रिपरिषद् विस्तार : प्रचण्ड

1.3K

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले समाजवादी दर्ता हुना साथ मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

एमाले नेता माधवकुमार नेपालले बुधबार मात्र एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली नबनेका कारण नेताहरुको सनाखत हुन बाँकी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार सनाखत हुना साथ मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । बिहीबार विहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवा, आफू र एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको भन्दै उनले भने, ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्नु हुन्न भन्नेमा पुगेका छौं ।’
‘दल फुटाउने अध्यादेशले लोकतन्त्र र संघीयताको रक्षा गर्छ’
अध्यक्ष प्रचण्ड गठबन्धन सरकारले २० प्रतिशत थ्रेस होल्डसहित ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले संघीयता, लोकतन्त्र र अहिलेको व्यवस्थालाई रक्षा गर्ने दाबी गरेका छन् । समाजवादी केन्द्रले काठमाडौंमा बिहीबार आयोजना गरेको कार्यक्रमले सरकरले मंगलबार ल्याएको उक्त अध्यादेशले कसैलाई हानी नगर्ने जिकिर गरे ।

‘केपी ओलीले अध्यादेश ल्याउँदा चर्को विरोध भएको थियो । तर म के चाहिँ कुरा भन्छु भने एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु थियो’, उनले भने, ‘तर यो अध्यादेश चाहिँ लोकतन्त्र, संघीयता र अहिलेको व्यवस्था जोगाउ ल्याइएको हो ।’ यो अध्यादेशले गणतन्त्रको पनि रक्षा गर्ने जिकिर प्रचण्डले गरेका हुन् । ‘लोकतन्त्र मास्न ल्याएको अध्यादेश र जोगाउन ल्याएकोलाई उस्तै उस्तै हो भन्नु गलत हो,’ उनले अगाडि भनेका छन् ।

Advertisement