काठमाडौं- वरिष्ठ नेता माधवकुमार नेपालले अलग भएर नयाँ दल गठन गरेपछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एकताका लागि भएका सबै प्रयास निरर्थक बनेको बताएका छन् ।
पार्टीभित्रको एकता कायम राख्न पटक–पटक अपिल गरिएको तथा माधव नेपाललगायत केही नेतासँग आफैंले पनि पटक–पटक छलफल गरेको तर ती सबै निरर्थक बनेको भन्दै महासचिव पोखरेलले दुःख व्यक्त गरेका हुन् ।
नेकपा एमालेका नेता पोखरेलले पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताएका छन् । उनले एमालेमा आएको विभाजनलाई ‘अदृष्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम’ भनेर टिप्पणी समेत गरेका छन् । नेता माधवकुमार नेपाल एमालेबाट अलग भएर नयाँ दल दर्ताको लागि निवेदन दिएपछि पोखरेलले सो धारणा सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पार्टीलाई एक ढिक्का बनाउन यस विचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृष्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको छ ।’