काठमाडौं : सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा औपचारिक रूपमा विभाजित भएका छन्।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता गराएका छन्। यसैगरी जसपाका नेता महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ता गरेका छन्।
अध्यादेशको तरंगपछि एमालेबाट टुक्रिएको नेता नेपाल समूहले आफ्नो पार्टीको चुनाव चिह्न खुला किताब राखेको छ। यस्तै, जसपा नेता ठाकुर पक्षले साइकल चुनाव चिह्न राखेर आयोगमा दल दर्ता गराएको छ।
नेकपा एमाले समाजवादी पार्टीमा नेता नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको नेता राजेन्द्र पाण्डेले बताए।
आयोगमा दर्ता गराइएको एमाले समाजवादीको दोस्रो वरीयतामा झलनाथ खनाल रहेको उनले बताए। एमालेमा रहँदा भने नेता नेपालको वरीयता खनालपछि थियो।
नयाँ पार्टीमा नेपाललाई अध्यक्ष र खनाललाई वरिष्ठ नेता बनाइएको उनले बताए। ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको भए पनि दुवै सदनका ३१ सांसदले नेता नेपाललाई साथ दिएको उनको भनाइ छ।
यस्तै जसपाको नयाँ पार्टी जसपा लोकतान्त्रिकमा अध्यक्ष ठाकुर एकल अध्यक्ष रहने छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहने भएका छन्।
तर, सरकारले ल्याएको दलसम्बन्धी अध्यादेशमा नयाँ दल गठन भएको २१ दिनभित्र सो दलमा प्रवेश गर्ने जनप्रतिनिधिको पद सुरक्षित रहने प्रावधान थपिएको छ। अध्यादेशअनुसार कुनै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र नयाँ पार्टीमा प्रवेश गरेमा उनीहरूको पद कायमै रहने छ।
दलसम्बन्धी अध्यादेशपछि प्रकाशित राजपत्रमा उल्लेख छ– (२क) उपदफा (२) बमोजिम छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन।