March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

‘जसपा लोकतान्त्रिक’ दर्ताका लागि महन्थ पक्ष निर्वाचन आयोगमा

1.1K

काठमाडौं, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) गठनका लागि निवेदन लिएर सो पार्टीका नेता निर्वाचन आयोग पुगेका छन् ।
नेता राजेन्द्र महतोले जसपा लोकतान्त्रिक दर्ताका लागि सांसदहरु निर्वाचन आयोगमा उपस्थित भएको जानकारी दिए । उनका अनुसार पार्टीको झण्डामा तीन रंग रहनेछ भने साइकल चुनाव चिह्न हुनेछ । साइकल गतिशीलताको प्रतीक भएकाले यो चुनाव चिह्न राखेको शरतसिंह भण्डारीले जानकारी दिए ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।

सांसद चन्दा चौधरीका अनुसार नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहने छन् । उनीहरुसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् ।

Advertisement