March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

कस्तो बन्दैछ माधव नेपालको ‘नेकपा एमाले समाजवादी’ पार्टी ?

2.3K

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष सिफारिस गरेको छ । राष्ट्रपतिले आजै (बुधबार) अध्यादेश जारी गर्ने तयारी भइरहेको शितलनिवास स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपतिले अध्यादेश जारी गरे लगतै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ । आज थप केही साथीहरु पनि आउनु हुन्छ,’ उनले भने, ‘अध्यादेश आएपछि दल दर्ता गर्छौं ।’

नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ । अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको भन्दै ती केन्द्रीय सदस्य भन्छन्, नेकपा एमाले समाजवादी नै फाइनल होला ।’ नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रहनेछन् भने अरु पदाधिकारीबारे छलफल नै भएको छैन ।

Advertisement

उनका अनुसार अहिले ६० जना जतिको केन्द्रीय कमिटी बन्नेछ भने ३० प्रतिशत महिला सदस्य हुनेछन् । नेपालको अध्यक्षतामा खुल्न लागेको पार्टीको दस्ताबेज तयार पार्न सक्रिय स्थायी कमिटी सदस्य बेदुराम भुसालले सबै तयारी पुरा भएकाले आफूहरु अध्यादेशको पर्खाइमा रहेको बताएका छन् ।

‘हामीले सबै तयारी सकिसकेका छौँ,’ भुसालले भने, ‘अध्यादेश आउने बित्तिकै दल दर्ताका लागि निर्वाचन आयोग जान्छौं ।’ यसअघि मंगलबार बसेको बैठकमा आफू नयाँ पाटी गठनका लागि अघि बढिसकेको र साथ दिन चाहनेहरुलाई सँगै हिड्न आग्रह गरेका थिए ।