काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएर अद्यावधिकका लागि निर्वाचन आयोगमा सूची बुझाएको छ ।
निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले दिएको जानकारीअनुसार केन्द्रीय कमिटीको संख्या बढाएको पत्र आयोगमा पुगेको छ ।
‘२०३ जनाको केन्द्रीय सदस्यको संख्या बढाएर ओलीले २६० पुर्याउने निर्णयसहितको पत्र आएको छ’, स्रोतले भन्यो । तर निर्वाचन आयोगको प्रक्रिया पूरा हुन अझै २–४ दिन लाग्ने आयोग स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार निर्वाचन आयोगमा बुझाइएको नाममा माधवकुमार नेपाल समूहमा रहेका कसैको पनि नाम काटिएको छैन । प्रकाश ज्वालाको मात्रै नाम काटिएको स्रोतले जानकारी दियो ।
‘२६० जनाको नाम अद्यावधिकका लागि आयोगमा दर्ता भएको छ,’ आयोग स्रोतले भन्यो, ‘केन्द्रीय सदस्यको नामावली र हस्ताक्षर र पार्टी निर्णय, १० सदस्यीय कार्यदलको निर्णय दर्ता हुन आएको छ, प्रशासनिक कार्य सुरु भइसकेको छ ।’ सरकारले मंगलबार दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।
केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा २० प्रतिशत संख्या पुगे दल विभाजन गर्न सकिने प्रावधान राखेर सरकारले अध्यादेश ल्याएपछि एमालेले नयाँ केन्द्रीय समितिमा ५७ जना थपेर अद्यावधिक गराएको हो । एमालेले यसअघि २०७७ चैत ७ गते माओवादी छोडेर एमाले प्रवेश गरेका २३ नेताहरुलाई थपेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी रुपान्तरण गरेको थियो । त्यसबेलाको संख्या २ सय ६५ थियो ।