काठमाडौं- मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले दल विभाजनसम्बन्धी अध्ययादेश ल्याउने चर्चा चलिरहेका बेला मन्त्रिपरिषद् बैठक बसेको हो ।
यसअघि सोमबार बालुवाटारमै बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गए राति १२ बजेबाट संसद अधिवेशन अन्त्यको घोषणा गरेकी थिइन् । सरकारले दल विधाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला मंगलबार बिहान जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको थियो ।
भेटमा नेता ठाकुरसँगै राजेन्द्र महतो र शरतसिंह भण्डारी पनि प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार पुगेका थिए । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश आफ्नो पार्टी फुटाउने गरी ल्याउन लागेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति नै विज्ञप्ति निकालेर आपत्ति जनाइसकेका छन् ।
देउवाले आफूलाई साउन ३ मा विश्वासको मत दिएका एमाले नेता माधवकुमार नेपाल पक्षलाई सरकारमा ल्याउन दल विभाजनसम्बन्धी प्रावधान खुकुलो बनाएर अध्यादेश ल्याउने तयारी गरेका छन् ।