September 26, 2021, Sunday
२०७८ आश्विन ११
1:37:26 pm

माधव नेपाल पक्षलाई सरकारमा ल्याउन प्रचण्डको प्रयास जारी, कोटेश्वरमा भेटवार्ता

165

काठमाडौँ नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर नेतृत्वको सरकारमा मन्त्रिमण्डल विस्तारको कसरत चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

देउवा सरकारको नेतृत्वमा आएको यतिका दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन नसकेको चर्चा चलिरहेका बेला अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपालसँग भेटवार्ता गरेका हुन् । सत्ता पक्षीय गठबन्धनमा सहभागिता जनाउँदै आएका एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउन प्रचण्डले कसरत गरिरहेका छन् ।

Advertisement

तर, नेता नेपालले भने आफूहरु अहिले पनि एमालेको एकताकै पक्षमा रहेको बताउँदै अहिले सरकारमा सहभागी नहुने बताइसकेका छन् । तर नेपाल पक्षका २२ सांसदले भने सरकारमा सहभागी हुनुपर्ने दवाव दिंदै आएका छन् । नेपाल पक्षका २२ सांसदले सरकारमा सहभागी हुनुपर्ने दवाव दिइरहेकै बेला प्रचण्डले नेता नेपाललाई भेटेका हुन् । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच कुराकानी भएको थियो । प्रधानमन्त्री देउवालाई बालुवाटारमा पुगेर भेटेका प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास पुगेका हुन् ।

सत्तारुढ गठबन्धनले एमालेको नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । तर नेता नेपालले भने पार्टी एकताको प्रक्रिया चलिरहेकाले सरकारमा सहभागी हुनेबारे प्रष्ट कुरा राखेका छैनन् । सत्ता समीकरणको भागबण्डा मिल्न नसक्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद्मा कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री छन् भने माओवादी केन्द्रका दुई मन्त्री छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री देउवाले नै चलाइरहेका छन् ।

तर, आज बसेको सत्तारुढ गठबन्धनको शीर्ष तहको वैठकले सरकारमा सहभागी हुने मन्त्रीको संख्या भागवण्डा गरेको छ । जसमा कांग्रेसलाई ८, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई ७–७ मन्त्रालय छुट्याइएको छ । एमालेको माधव नेपाल समूहको सहभागिता बिना नै मोटामोटी मन्त्रालयको भागवण्डा मिलिसकेको भए पनि अध्यक्ष प्रचण्ड सरकारमा नेपाललाई पनि सहभागी गराउने कोशिसमा रहेका छन् ।