April 12, 2024, Friday
२०८१ बैशाख १
1:37:26 pm

आधिकारिकता पाएपछि यादवले भने- ‘पार्टीको गेटमा ताल्चा लगाएका छैनौं’

2.1K

काठमाडौँ — जनता समाजवादी पार्टीको केही महिनादेखि जारी विवाद निर्वाचन आयोगले टुंगोमा पुर्‍याएको छ । आयोगले सोमबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको ‘हेड काउन्ट’ गरेर विवादको निरूपण गरेको हो । 

५१ सदस्यीय कार्यकारिणी सदस्यहरूमध्ये ३४ जना उभिएको पक्ष अध्यक्ष उपेन्द्र यादवलाई जसपाको आधिकारिक पक्ष भनेको छ । पार्टीको आधिकारिकता उपेन्द्र यादवलाई दिएमा पार्टी विभाजन हुने र निर्वाचन आयोगलाई त्यो दोष जाने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताइसकेका छन् ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि अध्यक्ष यादवले केही व्यक्तिहरू बाहिरिने तर जसपा विभाजन नहुने बताएका छन् । उनले पार्टीमा आएर काम गर्न कसैलाई पनि रोक नलगाइने प्रतिक्रिया दिए । ‘जसपा पार्टीले आधिकारिकता पाएको हो, फुटेको छैन । केही व्यक्तिहरू जान सक्नुहुन्छ,’ जसपा विभाजन हुन लागेको हो भन्ने प्रश्नमा यादवको जवाफ थियो, ‘यसलाई फुट भन्न मिल्दैन । हामीहरूले पार्टीको गेटमा ताल्चा लगाएर राखेका छैनौं ।’

Advertisement

जसपाको संसदीय दल एक ठाउँमा रहेको भन्दै यादवले पार्टी विभाजन नहुने दाबी गरे । ‘अहिले सबै सांसद जसापाकै पक्षमा हुनुहुन्छ,’ उनको भनाइ थियो ।

तराई-मधेस लगायत सम्पूर्ण नेपालीको लागि जसपा पार्टी भएको भन्दै यादवले अहिलेको विवाद समाधानले पार्टी अझ बलियो भएर जनतामा जाने बताए । ‘पार्टीभित्रको अहिलेको विवादले मतदातालाई प्रभाव पार्दैन । पार्टी अझ बलियो हुन्छ,’ उनले थपे, ‘अहिले भएका विवाद अन्त्य हुन्छ र पार्टी अझ बलियो भएर जान्छ ।’