काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको बताएका छन्। जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुध्दिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको रावलको भनाइ छ।
साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिनु अगाडि एमाले सांसद रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका थिए।
सञ्चारकर्मीमाझ राजीनामाको घोषणा गरेका रावलले त्यसपछि सभामुखकको सचिवालयमा आफ्नो राजीनामा पत्र बुझाएका थिए।
रावलले शुक्रबार सार्वजनिक सञ्जालमार्फत राजीनामा फिर्ता लिएको जानकारी दिएका छन्।
‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआइ प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ,’ रावलले भनेका छन्, ‘सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुध्दिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको छु।’