April 24, 2024, Wednesday
२०८१ बैशाख १२
1:37:26 pm

ओली–नेपालको भेट गराउन दोस्रो तहका नेताको दौडधूप

1.5K

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक भेटवार्ता गराउन दोस्रो तहका नेताले दौडधूप बढाएका छन् ।

दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र नेता नेपालबीच बिहीबार बेलुका नै भेटवार्ता गराउने तयारी गरेका थिए । त्यसका लागि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक समापन गरे लगत्तै समय मिलाउन नेताहरुलाई सुझाव समेत दिएका थिए । ‘दुई नेताबीच बिहीबारै भेटवार्ताको तयारी भएको थियो । तर हुन सकेन, आज पनि हामीले प्रयास जारी राखेका छौ, कुराकानीहरू भइरहेका छन्’, नेता सुवास नेम्वाङले भने, ‘उहाँहरुले भेटवार्ता नगरेसम्म पार्टी एकताले मूर्तरुप पाउन सक्दैन । त्यसो भएकाले भेटवार्ता अनिवार्य नै छ ।’

बिहीबार बिहान नेताहरु भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेताहरुले अध्यक्ष ओलीलाई भेटेर दुई नेताको भेटवार्ता गराउने प्रस्ताव गरेका थिए, जसमा ओली कन्भिन्स समेत भएका थिए । सोही सहमति र सल्लाह अनुसार नेता रावलले बिहीबारै ओलीलाई बालकोटमा भेटेर वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न नेपाल निवास कोटेश्वर छिरेका थिए ।

Advertisement

रावलले नेता नेपाललाई भेटेर पार्टी एकताका लागि दुई नेता बसेर छलफल गर्न र सहमति जुटाउन आग्रह गरेका थिए । रावलको आग्रहमा नेता नेपालले कुनै ठोस जवाफ नदिए पनि नेता नेपालको जवाफ आउने र भेट हुनेमा रावल समेत ढुक्क थिए । सोही अुनसार दोस्रो तहका नेताहरुले बिहीबार बेलुका दुई नेताबीच भेटवार्ता हुनसक्ने बताएका थिए । तर, बिहीबार साँझ वरिष्ठ नेता नेपालको सचिवालयले पुर्व प्रधानमन्त्रीद्वय ओली र नेपालबीच भेटवार्ता हुने समय तय नभएको भनेर खण्डन गरेको थियो ।

असार २८ मा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि ओली र नेपालबीचको सम्बन्ध थप तिक्ततापूर्ण बनेको थियो । सर्वोच्चको आदेशको आदेशले प्रधानमन्त्री पद गुमाउन पुगेका अध्यक्ष ओली असार ३० गते आफ्नो नीजि निवास बालकोट पुगेर ऐतिहासिक ‘बार्दलीसभा’ मार्फत वरिष्ठ नेता नेपाललाई ‘लाल गद्दार’ घोषणा गर्न पुगेका थिए ।

त्यसपछि ओली निकटका कार्यकर्ताहरु नेपालको पुत्ला दहनदेखि बाँदरको भेषमा प्रदर्शन गर्दै नेता नेपालविरुद्ध खनिएका थिए । त्यसपछि साउन ४ गते बसेको एमाले केन्द्रीय कमिटीमार्फत नेता नेपालसहित शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई कारवाही गर्ने निर्णय गराएका ओलीले त्यसक्रममा नेता नेपाल बाहेकका नेतालाई मात्रै एमालेमा स्थान दिन सकिने बताएका थिए ।

केन्द्रीय कमिटी बैठकको शुरुमा माधव पक्षसँग आक्रोशित बनेका ओली बैठकको समापन गर्दासम्म धेरै लत्रिएर कारवाही गर्ने घोषणा समेत फिर्ता लिन पुगेका थिए । ‘ओली एकपछि अर्को गर्दै लत्रँदै गएका छन् । यसले पार्टी एकता हुन्छ कि भन्ने आशा जगाएको छ’, एमालेका एक स्थायी समिति सदस्य भन्छन्, ‘तर बरिष्ठ नेता नेपाल त्यो रुपमा आउन सक्नु भएको छैन । जसले गर्दा भेटवार्ता पनि हुन सकेको छैन ।’