April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

जसपा विवाद टुंग्याउन निर्वाचन आयोगले कार्यकारिणी सदस्यलाई बोलायो

2.3K

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को विवाद टुंग्याउन निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यलाई बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बिहीबार बसेको इजलासले जसपा विवाद टुंग्याउन कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि साउन ११ गते बिहान ११ बजे आयोगमा बोलाउने निर्णय गरेको हो ।

‘पार्टी एकीकरण हुँदाका बखतका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई परिचय खुल्ने नागरिकता वा मतदाता परिचयपत्रसहित साउन ११ गते उपस्थित हुन भनेर पत्र पठाउने निर्णय भएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले कान्तिपुरलाई जानकारी दिए ।

पार्टी एकीकरण बेला जसपाको ५१ जनाको कार्यकारिणी समिति रहेको कागजात आयोगमा बुझाइएको छ । जसमध्ये ३२ भन्दाबढी आफ्नो पक्षमा रहेको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले बताएको छ ।

Advertisement

पार्टीमा विवाद भएपछि अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवसहित उनका पक्षका केन्द्रीय कार्यकारिणी सदस्यलाई हटाएर आफू निकट नेताहरुलाई मनोनयन गरेका थिए । त्यसको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा पठाए पनि आयोगले अस्वीकार गरेको थियो । त्यसपछि अध्यक्ष यादवले आधिकारिता माग गर्दै बहुमत केन्द्रीय कार्यकारिणीको हस्ताक्षर आयोगमा बुझाएका थिए ।

पछिल्लो समय दुवै पक्षले पार्टी विभाजन गरिदिन भन्दै आयोगमा निवेदन दिएका थिए । सोही विवाद टुंगो लगाउन बिहीबार पनि इजलास बसेको हो ।