April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

कोरोना महामारी व्यवस्थापन गर्न प्रधानमन्त्री देउवालाई जनस्वास्थ्य विज्ञको १८ बुँदे सुझाव

2.2K

काठमाडौं । नेपालमा कोभिड–१९ महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि भन्दै जनस्वास्थ्य विज्ञहरुले सरकारलाई १८ बुँदे सुझाव पेश गरेका छन् ।

क्षेत्रीय परिस्थितिले गर्दा केही महिनामा नै कोरोनाको तेस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै डा. महेश मास्के लगायत १६ जना जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसको व्यवस्थापनका लागि भन्दै १८ बुँदे सुझाव पेश गरेका हुन् ।

उच्च स्तरीय कोभिड–१९ व्यवस्थापन समितिमा प्रस्तुत हुनुपूर्व सबै महत्वपूर्ण विषयमा राय लिन योग्य चिकितसक र जनस्वास्थ्य विशेषज्ञहरु सम्मिलित स्वतन्त्र सल्लाहकारहरुको समूह बनाउन सुझाव दिँदै उनीहरुले योग्यता र क्षमताको आधारमा तत्काल स्वास्थ्य मन्त्री नियुक्त गर्न समेत माग गरेका छन् ।

Advertisement

उनीहरुले १८ वर्षभन्दा माथिका नागरिकलाई यथाशिघ्र खोप लगाउन र खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारी सहयोगमा संलग्न गराउनुका साथै वृद्ध/असाहय मैत्री तथा कम भीडभाड हुने गरी खुल्ला ठाउँमा व्यवस्थापन गर्न सुझाव दिएका छन् ।

स्वास्थ्यकर्मीहरुलाई उचित तालिमसहितको उच्चस्तरको सचेतना र तयारीको अभ्यास गराउनुपर्ने भन्दै उनीहरुले आवश्यक औषधि तथा अक्सिजनको आपूर्ति, प्रभावकारी परीक्षण सुविधा, शंकास्पद व्यक्तिका लागि क्वारेन्टिन सेन्टर सञ्चालन गर्न जरुरी रहेको र संक्रमण देखिएकाहरुलाई होम आइसोलेसनमा वा संस्थागत आइसोलेसनमा बस्दा टेलिमेडिसिन तथा मोबाइल स्वास्थ्य एकाइ सेवा सञ्चालन गर्न उनीहरुको सुझाव छ ।

अस्पतालको बेड, एचडीयू, आईसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि प्रधानमन्त्री देउवालाई उनीहरुले सुझाव दिएका छन् ।

प्रधानमन्त्री देउवालाई सुझाव दिनेमा डा. मास्केसहित कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुणा उप्रेती डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समिर दीक्षित, डा. राजेन्द्र बीसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदी रहेका छन् ।