March 15, 2025, Saturday
२०८१ चैत्र ३
1:37:26 pm

पेरिसडाँडामा माओवादी केन्द्रको बैठक सुरु, मन्त्रीको नाम टुंगो लगाउने

1.3K

काठमाडौँ – अध्यक्ष प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा मन्त्रीको नाम टुंगो लगाउन छलफल सुरु गरेका हुन् । पार्टी कार्यालय सचिव श्रीराम ढकालले सरकारमा सहभागी मन्त्रीको नाम टुंगो लगाउन स्थायी कमिटी सदस्यहरुसँग छलफल जारी रहेको जानकारी दिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट दुई जना मन्त्री भइसकेका छन् । अर्थमा जनार्दन शर्मा र उर्जा मन्त्रालयमा पम्फा भुसाल नियुक्त भएका छन् ।

आजको बैठकमा सरकारलाई प्रभावकारी बनाउने, र पार्टीको संगठनात्मक विषयमासमेत छलफल हुने बताइएको छ ।

Advertisement

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने दौडमा छन् । तर अर्थमन्त्री समेत रहेका नेता शर्माले सरकारको नेतृत्व आफैले गर्ने चांहना व्यक्त गरेका छन् । माओवादीमा श्रेष्ठको भन्दा संगठनमा शर्माको बलियो पकड छ ।

यसअघि कृषिमन्त्री बनेका नेता हरिबोल गजुरेलले पनि सरकारको नेतृत्वमा दावी गरेका छन । उनि यसअघि २०६९ माघ २० देखि २६ सम्म भएको हेटौडा महाधिवेशनमा कोषाध्यक्षमा निर्वाचित भएका थिए ।

माओवादीले ८ मन्त्रालय दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । तर, एमालेको माधव नेपाल समुह सरकारमा सहभागी हुने सम्भावना भएकाले माओवादीले ६ मन्त्रालय मात्र पाउने अवस्था छ ।

माओवादीभित्र मन्त्री बन्न धेरै आकांक्षीहरु छन । माओवादीमा सवैजस्तो स्थायी समिति सदस्यहरु मन्त्री बनेपनि अहिलेसम्म मन्त्री बन्न नपाएका देवेन्द्र पौडेल पनि यसपटक मन्त्री बन्ने दौडमा छन् ।

मन्त्री बन्न नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराम चौधरी, सुरेशकुमार राई,सुदन किराती, शिवकुमार मण्डल,मायाप्रसाद शर्मा र अमनलाल थारु लगायत दौडमा छन् ।