July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

अझै बस्न सकेन एमाले कार्यदलको बैठक

150

काठमाडौं –  पार्टीभित्रको विवादलाई आज टुङ्गोमा पुर्‍याउने दावी गरेको नेकपा कार्यदलको वैठक अझै बस्न सकेको छैन । विवाद समाधान गर्दै नेकपा एमालेको एकतालाई बचाउन पुनः सक्रिय गराइएको कार्यदलको आज (शनिबार) को वैठक अपराह्न ४ बजेसम्म पनि बस्न नसकेको हो । बैठक दिउँसो साढे २ बजे बस्ने तय गरिएको थियो ।

सिंहदरबारस्थित बैठकस्थलमा केही नेताहरु उपस्थित भए पनि बैठक बसेको छैन । कार्यदलमा रहेका वरिष्ठ नेता नेता माधवकुमार नेपाल पक्षका नेताहरु बैठक नबसी सिंहदरबारबाट बाहिरिएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु भने बैठकस्थलमा नै छन् ।

यसअघि आजै कार्यदलमा ओली पक्षबाट संयोजक समेत रहेका नेता सुवास नेम्वाङ र सदस्य विष्णु पौडेल तथा कार्यदलमा नेपाल पक्षबाट संयोजक समेत रहेका नेता भीम रावलबीच सिंहदरबारमै केहीबेर छलफल भएको थियो । नेताहरुले आज दुई पक्षबीच सहमति हुने बताएका थिए ।

कार्यदल सदस्यहरुले आज सहमतिको खाका सार्वजनिक गर्ने दावी गरेका थिए । कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धतालगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिएका थिए । त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताएका थिए ।