January 18, 2022, Tuesday
२०७८ माघ ४
1:37:26 pm

देउवाविरुद्ध एकल उम्मेदवार बनाउने तयारी

290

काठमाडाैं- नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिँदै जाँदा सभापतिको उम्मेदवारबारेमा छलफल पनि सघनरुपमा सुरु भएको छ।

पार्टी सभापतिका लागि धेरै आकांक्षीहरु देखिएपछि शेरबहादुर देउवाइतर समूहले एकल उम्मेदवार बनाउनेबारे छलफल सुरु गरेको छ। देउवाले यो पटक पनि सभापतिमा दाबी नछोड्ने घोषणा गरेपछि उनीबाहेकका नेताहरु एक भएर उनको प्रतिस्पर्धीका लागि बलियो एकल उम्मेदवार बनाउने छलफलमा जुटेका हुन्।

शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला भएर नेताहरुले छलफल सुरुआत गरेका छन्। छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, नेतृ सुजाता कोइराला लगायत सहभागी थिए। नेता केसीले संस्थापनइतर पक्षबाट सभापतिमा दाबी गर्ने नेताहरुको बैठक बोलाएका हुन्।

Advertisement

छलफलपछि नेतृ सुजाता कोइरालाले संस्थापनइतरबाट एक जना मात्रै उम्मेदवार उठाउने कुरामा छलफल भएको बताइन्। ‘सबैको कुरा राम्रा आइरहेका छन्। एक जना मात्रै उठाउँछौं,’ उनले भनिन्, ‘केही दिनमा हाम्रो पक्षको एक उम्मेदवारको घोषणा हुन्छ।’

हालसम्म पौडेल, शेखर कोइराला, शशाङ्‍क कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतले सभापतिको उम्मेदवार हुने घोषणा गरेका छन्। यो थपिने क्रम जारी नै रहेको समयमा नेताहरुले छलफल अघि बढाएका हुन्।

सर्वसम्मत एक जना उम्मेदवार उठाउन नसके शीर्ष नेताहरु सल्लाहकार समितिको रूपमा रहेर अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार हुनुपर्ने नेतृ कोइरालाले बताइन्।