July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

एमाले एकता कार्यदलको बैठक सकियो– छलफल सकारात्मक भएको नेताहरुको प्रतिक्रिया

305

काठमाडौं– नेकपा एमालेको एकता कार्यदलको मंगलबार बसेको बैठक सकिएको छ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुबीच सिंहदरबारमा चलेको बैठक सकिएको हो। 

बैठकपछि प्रतिक्रिया दिँदै नेताहरुले सकारात्मक छलफल भएको बताएका छन्। माधव पक्षबाट कार्यदल सदस्य रहेका गोकर्ण विष्टले बैठकमा सुझावहरु राख्ने काम भएको र कसरी टुंगोमा पुग्ने भन्ने विधिबारे छलफल भएको बताए।

‘कार्यदलका सबै सदस्यले आ–आफ्नो सुझाव राख्नु भएको छ। कसरी टुङ्गोमा पुग्ने भन्ने गरी छलफल अघि  बढेको छ,’ विष्टले भने ‘हिजोभन्दा आज धेरै प्रगती भएको छ । केही विमतिका कुरा थिए । कहाँ–कहाँ विमति छ, त्यसमा कसरी टुङ्गोमा पुग्ने भन्ने गरी छलफल भएको छ।’

नेता विष्टले कार्यदलको बैठक बुधबार पनि बस्ने जानकारी दिए। 

एमाले एकता जोगाउन भन्दै केही समय अगाडि गठन भएको कार्यदल सोमबारदेखि फेरि सक्रिय भएको हो।

कार्यदलका नेताहरुबीच सोमबार पनि छलफल भएको थियो। 

कार्यदलका सदस्यहरुबीच अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संयुक्त वक्तव्य जारी गर्ने विषयमा समेत छलफल भएको चर्चा चलेको थियो। तर, मंगलबारको बैठकमा त्यससम्बन्धमा कुनै सहमति हुन सकेन।