July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

कांग्रेसलाई पुरानो साखमा फर्काउन सभापतिमा मेरो उम्मेदवारी: देउवा

250

काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको साख पुरानो अवस्थामा ल्याउन आफू फेरि सभापतिमा उठ्न लागेको बताएका छन्। राजनीतिक अवस्था तरल रहेकाले पार्टीको नेतृत्वमा पुनः आफू आउनुपर्ने उनको दाबी थियो।

आफूपक्षीय बागमती प्रदेशका केन्द्रीय नेताहरुलाई डाकेर देउवाले १४औं महाधिवेशनमा सहयोगको आग्रह गरे। विगतमा सरकार रहँदा अरु दललाई सहमतिमा लिएर अघि बढ्न सकेको उदाहरण देखाउँदै देउवाले सबैलाई मिलाउने क्षमता आफूमा भएको सुनाएका थिए।

बैठकमा सहभागी नेताहरुले सभापतिमा प्रत्यासी हुँदा उठाउने अजेण्डाबारे जिज्ञासा राखेका थिए। ‘संसदीय अवस्था हेर्दा पार्टी कमजोर देखिएको छ। संगठनमा भने हामी बलियो छौं,’ देउवाले छलफलमा राखेको विचारबारे सहभागी एक नेताले भने,‘दुई कम्युनिस्ट एक भएकाले थोरै मतले हामी धेरै ठाउँमा हारेका छौं। दुई पार्टी एक नभएको भए हामी नै ठूलो दल हुने थियौं।’

पार्टीको पूर्ववत् साख फर्काउन देशको तरल राजनीतिलाई ट्र्याकमा ल्याउन आफ्नो उम्मेदवारी हुने देउवाले बताएका थिए। देशमा प्रणाली फेर्न र संकटबाट पार लगाउन कांग्रेसको निर्णायक भूमिका रहेको स्मरण गर्दै देउवाले त्यो भूमिका आफ्नो नेतृत्वमा सम्भव हुने बताएका थिए। ‘राष्ट्रिय एकता कायम गर्न पार्टीका अन्य नेताभन्दा म सक्षम छु,’ देउवाले छलफलमा राखेको विषय सहभागी एक नेताले बताए।

उम्मेदवारीको औपचारिक घोषणा गर्ने मनस्थिति बनाएका देउवाले अन्य नेताको राय लिएका थिए। ‘उहाँले उम्मेदवारी दिने मनस्थिति बनाइसक्नुभएको छ। आफूनिकटका नेताहरुको पनि सुझाव लिने गर्नुभएको छ,’ ती नेताले बताए।

सातवटै प्रदेशका आफूनिकट नेताहरुसँग छलफल गर्ने क्रममा देउवाले बागमती नेताहरुलाई आइतबार निवासमा डाकेका हुन्। देउवाले प्रदेश १ र २ का नेताहरुसँग शनिबार छलफल गरेका थिए।