July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

चीनले पहिरोले थुनिएको रोङसी खोला खोलेपछि हट्यो तामाकोशीमा बाढी आउने त्रास

250

दोलखा –  चीनको तिब्बत क्षेत्रमा गएको पहिरोले तामाकोशी नदीको मुहान थुनिँदा उत्पन्न भएको बाढीको त्रासमा केही कमी आएको छ । नदी थुनिँदा बनेको तालबाट शनिबार दिउँसोदेखि पानी बग्न थालेपछि बाढीको त्रास केही घटेको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन् ।

‘चिनियाँ पक्षले तालबाट पानी बग्न थालेको जानकारी गराएका छन्,’ प्रजिअ घिमिरेले भने, ‘आज (आइतबार) दिनभरीमा तालबाट पानी बहिरिसक्ने अपेक्षा गरिएको छ ।’

उनले तालमा जमेको पानी बग्न थालेपछि तामाकोशीमा पानीको बहाब केही बढे पनि खतरा नरहेको बताए । ‘आइतबार रातिदेखि तामाकोशीमा पानीको बहाब केही बढेको छ,’ घिमिरेले भने, ‘तालको पानी एकै पटक खोलिन्छ कि भन्ने डर थियो, तर त्यस्तो नहुने देखियो । अब धेरै त्रास छैन ।’

घिमिरेका अनुसार आजपनि चिनियाँ पक्षले पहिरो हटाएर जमेको पानीलाई बाहिर निकाल्ने तयारी गरेका छन् । दोलखाको नेपाली सीमा नजिकै चीनको तिङ्ग्री काउन्टी क्षेत्रमा शुक्रबार गएको पहिरोले तामाकोशी नदीको सहायक रोङ्सी खोला थुनिएर ठूलो ताल बनेको थियो । जसको कारण दोलखा र रामेछापको तामाकोशी तटीय क्षेत्रमा बाढीको त्रास उत्पन्न भएको थियो ।

तामाकोसीमा आउनसक्ने बाढीबाट तटीय क्षेत्रका बासिन्दालाई जोगाउन स्थानीय प्रशासनले हाइअलर्ट समेत जारी गरेको थियो। ठूलो बाढीलाई रोक्न माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय समेत खाली गरिएको थियो । शनिबार दिनभरीमा जलाशय खाली भएको प्रजिअ घिमिरेले बताए ।