July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

आजदेखि फेरि भारी वर्षाको सम्भावना, तराई क्षेत्रमा धेरै पानी पर्ने

420

काठमाडौं – दुई दिन केही मत्थर भएको वर्षा आज (आइतबार) देखि फेरि बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज (आइतबार) र भोलि (सोमबार) वर्षाको मात्रा बढ्ने देखिएको छ । यस क्रममा कतिपय स्थानमा निकै ठूलो (धेरै भारी) वर्षा पनि हुने सम्भावना छ ।

आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले प्रदेश–१, दुई र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई ठाउँमा पानी परिरहेको महाशाखाका मौसमविद् मञ्जु वासीले बताइन् ।

दिउँसो पनि मौसम बद्ली हुने र धेरै ठाउँमा पानी पर्ने उनको भनाइ छ । आज दिउँसो प्रदेश–१, प्रदेश–२ तथा वाग्मतीका थोरै ठाउँमा र बाँकी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन, चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने र काठमाडौं उपत्यकामा पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको मौसमविद् वासीले बताइन् । त्यस्तै आज राति प्रदेश–१, प्रदेश–२ तथा वागमती प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

ठूलो पानी पर्ने क्षेत्रमा बाढी पहिरोको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अझै केही दिन निरन्तर पानी पर्ने देखिएको पनि महाशाखाले जनाएको छ ।