September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

सात सालमा यसरी भएको थियो धनकुटा कब्जा

3.5K

राणाकालमा पूर्वी नेपालमा दुई महत्ववपूर्ण प्रशासनिक मुकामहरु थिए – धनकुटा र इलाम । त्यसो त संखुवासभाको चैनपुर पनि पहिल्यैदेखिको प्रशासनिक मुकाम थियो । राणाहरुले धनकुटालाई अलि महत्व दिएपछि चैनपुरभन्दा धनकुटा गौँडा अलि ठूलो प्रशासनिक मुकाम भएर देखा परेको थियो । यहीँबाट ठूल्ठूला मुद्दाहरु छिनिन्थे । धनकुटा गौँडाको प्रमुखको जिम्मेवारी राणाबाहेक अरुलाई दिइदैनथ्यो । २००७ सालको क्रान्तिको समयमा धनकुटा गौँडामा खेमशमशेर राणा बडाहाकिम थिए । त्यसैले क्रान्तिकारीहरुले तुरुन्तै धनकुटा कब्जा गर्ने योजना बनाई आवश्यक तयारी गरिरहेका थिए ।

२००७ साल कात्तिक ११ गते नेपाली काँग्रेसले सशस्त्र क्रान्तिको घोषणा गर्यो । उनीहरुले सशस्त्र क्रान्तिका लागि विभिन्न ठाउँमा हमला गरेको दिन त्यो सालको तिहारको भाईटिका परेको थियो । उनीहरुले विराटनगर, भैरहवा र बीरगञ्जमा एकैसाथ हमला गर्ने योजना बनाएका थिए । विराटनगरमा केशवप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला, भैरहवामा डा. केआई सिंह र वीरगञ्जमा पुरणसिंह ठाकुर र जीवी याक्थुङ्वाले सैन्य कमाण्डिङ गरेका थिए । तर वीरगञ्जबाहेक मुक्ति सेनालाई अरु दुई ठाउँमा सफलता हासिल हुन सकेन । तर उनीहरुले वीरगञ्जमा सरकारी सेनालाई आत्मसमर्पण गराए ।

Advertisement

त्यसपछि उनीहरु उपरदाङगढी (चितवन) कब्जा गर्न अघि बढे । उनीहरुले सोचेभन्दा सजिलै त्यस ठाउँ कब्जा गरे । रातको समय त्यो गढी चकमन्न थियो । बाँकी सेनालाई पछाडी छाडेर जीवी याक्थुङ्वा र श्यामकुमार तामाङ बडाहाकिमको निवासमा छिरे । आफूले बोकेको रिबल्वर निकालेर श्यामकुमारले घच्घच्याएपछि बडाहाकिम र उनकी श्रीमति ब्यूँझिए । बरु बडाहाकिमले हतियार र पैसा लिएर जान भनेपछि उनीहरुले सोचेभन्दा सजिलै र विना रक्तपात उपरदाङगढीमा कब्जा जमाए ।

त्यसपछि उनीहरु विराटनगरतर्फ लागे । त्यतिखेर उनीहरुले आफूसँग भएको हतियार रेलभित्र राखेका थिए । रेलको डिब्बाभित्र ताला लगाएर हतियार सुरक्षित राखिएको थियो । विराटनगर पुग्नुभन्दा अलि वरै स्टेशनमा कोही ब्यक्तिले नेपाली बोले । उनीहरुले जीवी याक्थुङ्वा र श्यामकुमार तामाङहरुको नाम उच्चारण गरिरहेका थिए । यसरी उनीहरुको नाम बोलाउने ब्यक्तिहरु त गिरिजाप्रसाद कोइरालाको समूह पो रहेछ । उनीहरु रेलबाट ओर्ले, हतियार झिके । त्यसपछि विराटनगरको रेकी गरे ।

विराटनगरमा पहिलो हमलामा मुक्ति सेनाले हार ब्यहोरेको थियो । पूर्ण तयारीका साथ दोस्रो हमला भयो । उनीहरुले विराटनगरका बडाहाकिमलाई समात्न भने सकिरहेका थिएनन् । बडाहाकिम उत्तमविक्रम राणा ठूलो कम्पाउण्ड भएको घरमा कडा सुरक्षाबलसहित बस्थे । उनी आत्मसमर्पण गर्दै सेतो झण्डा देखाउँथे । मुक्ति सेना पुग्दा गोली चलाइहाल्थे । उनको यस्तो चालबाट मुक्ति सेनाका केही फौज घाइते भए । तर दुई वटा तोप र एउटा ट्याङ्क प्रयोग गरेपछि मात्र वडाहाकिम कब्जामा आए । (मुक्ति सेनाका तत्कालिन कमाण्डर तथा नेपाल प्रहरीका अवकासप्राप्त प्रहरी उपरिक्षक श्यामकुमार तामाङ (हालः दिवंगत)ले एबीसी टेलिभिजनलाई दिएको अन्तरवार्ताको अंश)

धनकुटा कब्जाको तयारी

विराटनगर कब्जा भएपछि मुक्ति सेना धनकुटा गौंडा कब्जाको तयारीमा थियो । यसको लागि धरानमा बसेर जीवी याक्थुङ्वा आवश्यक योजना बनाइरहेका थिए । राणा बडाहाकिम मुक्ति सेनासँग लड्न र राणा शासन जोगाउन भरमग्दुर प्रयास गरिरहेका थिए । कप्तानका छोरा भएकोले ललितबहादुर तुम्वाहाम्फे त्यतिबेला राणा पक्षधर थिए । केन्द्रबाट उनीसँग राजनीतिक सल्लाह लिनु भन्ने निर्देशन धनकुटाका बडाहाकिमलाई दिइएको थियो । त्यसबेला धनकुटाका बडाहाकिम खेमशमशेर राणा थिए । केन्द्रबाट धनकुटाका बडाहाकिमलाई ललितबहादुरसँग राजनीतिक सल्लाह लिई काम गर्नु भन्ने वायरलेस आयो । त्यो तार जीवी याक्थुङ्वाले क्याच गरे । काठमाडौंमा राजनीतिक सल्लाह गर्न जाँदै गर्दा जीवीले आफ्ना जासुसहरुमार्फत ललितबहादुरलाई पक्राउ गरे । जीवीले ललितबहादुरलाई दुई वटा विकल्प दिए,‘कि धनकुटा कब्जा गर्न सहयोग गर्नुस्, कि गोली खान तयार हुनुस् ।’ अन्ततः ललितबहादुर आफू कसै न कसैको मारमा पर्ने नै भएँ भन्दै काँग्रेसमा लागेर शहिद हुन तयार भए ।

ललितबहादुरले त्यसबेला तीन सय भूपू सैनिकहरुको पल्टन तयार पारे । उनी धनकुटाका बडाहाकिमका सल्लाहकारबाट मुक्ति सेना परिचालन गर्न तयार काँग्रेस बनिसकेका थिए । जीवीले ललितबहादुरलाई भने, ‘तपाईं विना हिंसा धनकुटा कब्जा गर्नुहोस । म एक टुकडी सेना दिएर पठाउँछु ।’

त्यसपछि काठमाडौंमा राजनीतिक सल्लाहका लागि हिडेका ललितबहादुर बीच बाटोबाटै काँग्रेस भएर फर्केर धनकुटातिर लागे । उनले धनकुटामा तैनाथ सरकारी सेना र बडाहाकिमलाई ‘आफू काँग्रेस भएर आउँदै गरेको र आत्मसमर्पण गर्न तयार रहनू’ भनी खबर पठाए ।

त्यतिखेरै धनकुटा दरबारमा बडाहाकिमका भारतीय ज्वाईँलगायत २०÷२२ जना पाहुना आएका रहेछन् । विराटनगरमा मुक्ति सेनाबाट भएको हमलामा बडाहाकिमका छोरा, नातेदार, पाहुनाहरु मरेको घटना ताजै थियो । त्यहीँ डरले धनकुटाका बडाहाकिमले तुरुन्तै आत्मसमर्पण गरेपछि काँग्रेसले विना हिंसा धनकुटा गौडा कब्जा  गर्यो । त्यसपछि लगत्तै धनकुटा दरबारमा जीवी याक्थुङ्वालाई भित्र्याइयो। उनले टुँडिखेलमा आयोजित आमसभामार्फत धनकुटा अन्तरिम सामयिक सरकार घोषणा गरे । यो सरकारले धनकुटाको दरबारमा बसेर विभिन्न मन्त्रालय चलाएको थियो  (गुञ्जमान सुब्बाले ‘ताप्छोप्पा’ वर्ष ८ अंक ६ (२०६० असार ५)मा दिएको अन्तरवार्ता) । धनकुटाको यो दरबार २०३९ सालमा भत्काइयो । दरबार सेनाको ब्यारेकभित्र थियो ।

सामयिक सरकार गठन 

२००७ को क्रान्तिमा काँग्रेसले जहाँ जहाँ कब्जा ग¥यो, त्यहाँ अन्तरिम सामयिक सरकार गठन गर्ने गरिएको थियो । सोही क्रममा धनकुटामा ललितबहादुर तुम्बाहाम्फे प्रमुख रहने गरी १२ सदस्यीय मन्त्रिमण्डल घोषणा गरिएको थियो । मन्त्रिमण्डलमा सी.एम. कन्दङ्वा, काजीमान कन्दङ्वा, नरेन्द्रकुमार प्रधानाङ्ग, गुञ्जमान आङबुहाङ लगायत थिए (डा.देवी क्षेत्री दुलाल, ‘आँखा’ विकास पत्रिका, वर्ष १३ अंक २–२०७२), पृ. ९र१२) । यस्ता सरकारहरुमध्ये भोजपुरमा नारदमुनि थुलुङको नेतृङ्खवमा इन्द्रप्रसाद श्रेष्ठ, जगदिश नेपाली लगायत मन्त्री रहेको सामयिक सरकार बनेको थियो । यस्तै इलाममा भैरवप्रसाद आचार्य, महानन्द सापकोटा मन्त्री रहेको सामयिक सरकार गठन गरिएको थियो । २००७ साल पुस २६ गते मुक्ति सेनाले डढेलधुरा कब्जा गरेपछि त्यहाँको सामयिक सरकारको नेतृत्व भीमदत्त पन्तले गरेको थिए (शेर भण्डारी ‘शिलापत्र’ अनलाइन–२०७६ असार १४) ।

लिम्बूवान प्रतिनिधि मण्डलको नेतृत्व 

२००७ सालको क्रान्ति सफल भएपछि सबै सामयिक विघटन गरियो । ललितबहादुर तुम्वाहाम्फे एक किपटिया सुब्बा पनि थिए । उनको दिलचस्पी लिम्बूवानको किपट सुधार र यसको निरन्तरता लगायतमा रहेको देखिन्छ । लिम्बूवान सुधार संघले २०११ साल जेठ ३२ गते लिम्बूवानको मागहरु राखी तत्कालिन राजा त्रिभुवनसमक्ष स्मृति पत्र चढाएको थियो । १७ थुम १० लिम्बूवानका किपटिया लिम्बू सुब्बाहरुले किपट समस्या समाधानका लागि पटक पटक माग गर्दा किपट समस्यासम्बन्धी छलफल गर्न केन्द्रबाट जर्नेल नीरविक्रम राणा, उपसचिव जीडी गुरुङ, बडाहाकिम मोहनबहादुर सिंह किपटिया क्षेत्रमा खटिएका थिए । किपटिया सुब्बाहरुको तर्फबाट प्रेमबहादुर मावोहाङ, नन्दप्रसाद खेवा, देउमान आङ्देम्बे, मेदनीप्रसाद कन्दङ्वा, काजीमान कन्दङ्वा, गुञ्जमान आङवोहाङ, हर्षवर्दन कन्दङ्वा र ललितबहादुर तुम्वाहाम्फे वार्तामा बसेका थिए । गैरकिपटियाका तर्फबाट गङ्गाप्रसाद सिटौला, सूर्यबहादुर थापा, तिलविक्रम श्रेष्ठ र गङ्गाप्रसाद दाहाल बसेका थिए । तर वार्ता सफल हुन सकेन (इङनाम, भगिराज र शेरबहादुर इङनाम, ‘ तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’–२०७०, पृ.२६९–२७०) ।

यसरी किपट समस्या समाधान हुन नसकेपछि किपटिया प्रतिनिधिहरुलाई छलफल गर्न काठमाडौ बोलावट भयो । २०१३ साल मंसिर १३ गते राजासँगको दर्शनभेटमा यो प्रतिनिधि मण्डलले विभिन्न मागहरुसहितको स्मृतिपत्र राजालाई बुझायो । यो प्रतिनिधि मण्डलको नेतृत्व उनै ललितबहाुर तुम्वाहाम्फेले गरेका थिए । प्रतिनिधिमण्डलमा प्रेमबहादुर मावोहाङ, इमानसिंह चेम्जोङ लगायत २९ जना थिए (इङ्नाम, उही, पृ. २७०–२७१)। सामयिक सरकारको प्रमुख तथा लिम्बूवान प्रतिनिधि मण्डलको नेता लिम्बूवानकै सवालमा पछि पनि सक्रिय देखिन्छन् । २०१६ सालमा तेह«थुममा लिम्बूवानको विशाल सम्मेलन हुँदा तत्कालिन उपमन्त्री देउमान आङदेम्बे, ललितबहादुर सुब्बा (तुम्वाहाम्फे) जस्ता प्रवुद्ध व्यक्तिहरु सहभागी थिए । सम्मेलनले सुब्बा प्रेमबहादुर अध्यक्ष र पद्मसुन्दर लावति सचिव भएको ‘लिम्बूवान सुरक्षा सुरक्षित संगठन’ गठन गरेको थियो (लावति, पद्मसुन्दर, ‘मेरो देश मेरो परिवेश’–२०७१, पृ.३४) ।

लिम्बूवानको किपटसम्बन्धी मरिमेटेर लाग्ने ललितबहादुर तुम्वाहाम्फे लिम्बूवानको इतिहासका महङ्खवपूर्ण स्रोत पनि हुन् । उनीसँग लिम्बूवानसँग सम्बन्धित महत्वपूर्ण ऐतिहासिक पत्रहरुको संग्रह रहेको थियो । तीमध्ये इतिहासकार शिवकुमार श्रेष्ठले वि.सं. १८१८ माघ वदीको सेनकालीन स्याहामोहरदेखि वि.सं. १९५६ मंसिर सुदी ३को राणाकालिन इस्तिहार गरी ३४ वटा ऐतिहासिक पत्रहरु आफ्नो पुस्तकमा प्रकाशित गरेका छन् (श्रेष्ठ, शिवकुमार, ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’–२०६२, पृ.११२–१६३) ।

प्रजातान्त्रिक होस या लिम्बूवानी आन्दोलन, ललितबहादुर तुम्वाहाम्फे एक स्मरणीय ब्यक्ति हुन् । विसं. १९५६ फागुन १० गते जन्मेका ललितबहादुरको २०४७ असार ९ गते निधन भयो । उनका सन्तानमध्ये शिवमाया तुम्वाहाम्फे निवर्तमान मन्त्री हुन् भने छोरा विजय सुब्बा प्रतिनिधि सभाका सदस्य छन् । बाबु काँग्रेस भए पनि शिवमाया र विजय बामपन्थी विचारतिर लागे ।