June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

85

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (बिहीबार) विश्वासको मत लिँदै छन्।

मुख्यमन्त्रीको विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १२ बजे प्रदेशसभा बैठक बस्दै छ।

वैशाख २९ मा ठूलो दलको आधारमा मुख्यमन्त्रीमा दोहोरिएका गुरुङले जेठ २८ भित्र विश्वासको मत लिनुपर्ने बाध्यता थियो।

गण्डकी प्रदेश सभामा ६० जना सदस्य छन् । यीमध्ये एमालेका २७ सांसद रहेका छन्। एमालेका यी सांसद पनि अहिले दुई पक्षमा बाँडिएका छन् । 

अर्कोतिर विपक्षी गठबन्धनले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपा रहेका छन् । यो गठबन्धनका लागि बहुमत पुर्याउन एक मतको आवश्यक रहेको छ । जनमोर्चाका तीन सांसद एकजुट नहुँदा गण्डकीमा विपक्षी गठबन्धनले पनि बहुमत पुर्याउन नसक्ने अनुमान गरिएको छ ।

गण्डकीमा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जसपाका २ र एक स्वतन्त्र सांसद रहेका छन् । विपक्षी गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारिएको छ ।

त्यसैले आजको गण्डकी प्रदेश सभालाई विशेष रुपमा हेरिएको छ । अब सत्ता र विपक्षी दुवैले बहुमत नपुर्याउँदा गण्डकीमा मध्यावधि निर्वाचन हुनसक्ने अनुमान पनि भएका छन् ।