June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

नेपाल समूहका चार नेता एमालेमै बस्ने

170

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध गराउन पूर्ववत् अवस्थामा फर्किने घोषणा गरेपछि माधव नेपाल समूह विभाजित भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन आफू तयार रहेको बताएपछि नेपाल समूहका नेताहरुको फरक मत सार्वजनिक गरेका छन् । नेपाल समूहका अधिकांश युवा नेताहरु ओलीको कदम सकारात्मक भएको भन्दै पार्टीलाई एकताबद्ध गराउनुपर्ने पक्षमा रहेका छन् ।

सोही विषयमा छलफल गर्न नेपाल समूहका चार जना युवा नेताहरुको छुट्टै बैठक बसेको छ । नेपाल समूहका नेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टबीच सोमबार बिहान छलफल भएको हो । नेता पाण्डेको निवासमा भएको छलफलमा पार्टीलाई एकताबद्ध बनाउँदै असन्तुष्ट विषयहरुलाई पार्टीभित्रै अन्र्तसंघर्ष गर्ने निष्कर्षमा पुगेका हुन् ।

नेताहरुले आफ्ना मागअनुसार पार्टी अध्यक्ष ओलीको प्रस्ताव आएकाले यसलाई सकारात्मक रुपमा लिएर एकताको पक्षमा उभिनुपर्ने निष्कर्ष निकालेका हुन् ।

‘पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउने निर्णय सकारात्मक छ । यो हामीले माग गरेअनुसार हो । असहमति भएका विषयलाई पार्टीभित्रै छलफल गर्नेगरी एकताको पक्षमा उभिने सहमति भयो’, बैठकमा सहभागी एक नेताले भने ।

नेपाल समूहका अधिकांश नेताहरुले प्रधानमन्त्री अ‍ोलीले यसअघि पनि पटकपटक धोका दिएकाले अहिले पनि विश्वास गर्ने कुनै आधार नभएको बताउँदै आएपछि चार नेता छुट्टै छलफलमा जुटेका हुन् ।

नेपाल समूहका करिब १२ जना नेता एकताको पक्षमा उभिएका छन् । जसमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, नारायण खतिवडा, दीपक भट्ट, गणेश पहाडी, राजबहादुर बुढा लगायतका नेताहरु एकताको पक्षमा छन् । उनीहरुले माधव नेपाल नआएपनि आफुहरु मूल पार्टीमा फर्किनुपर्ने निष्कर्ष निकालेका छन् ।

उक्त बैठकले पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने अध्यक्ष ओलीको घोषणालाई सकारात्मक रुपमा लिँदै एमालेमै बस्ने निष्कर्ष निकालेको हो ।