June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

आलोचनापछि महतोको स्पष्टीकरण: राष्ट्रिय एकता र अखण्डतामा प्रतिबद्ध छु

235

काठमाडौं– आफ्नो विवादास्पद अभिव्यक्तिले आलोचित भएका उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको जनाएका छन्।

शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि महतोले   शनिबार राति  एक विज्ञप्ति जारी गर्दै अभिव्यक्ति सच्याएका हुन्।  

 उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनी स्पष्ट पारेका छन् ।

‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समुदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, महतोद्वारा जारीे विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो अभिव्यक्तिलाई गलतरुपमा प्रचार गरिएकाे दावीसमेत उनले गरेका छन्।

विवादास्पद अभिव्यक्ति दिने उनलाई मन्त्रीबाट हटाउनुपर्ने मागसमेत उठेको थियो भने विद्यार्थीको एक समूहले उनको पुतलासमेत दहन गरेको थियो।