April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

शीर्ष नेतामाथिको कारबाही फिर्ता नलिएसम्म नेपालसमूहले ओलीपक्षसँग औपचारिक वार्ता नगर्ने

1.7K

काठमाडौँ — एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुमाथिको कारबाही फिर्ता नलिएसम्म उनको पक्षसँग औपचारिक वार्ता नगर्ने रणनीति तय गरेको छ ।

बिहीबार सुरु भई शुक्रबार सकिएको केन्द्रीय कमिटीको ‘भर्चुअल’ बैठकले खनाल र नेपालसहितका आफ्नो पक्षका नेताहरुमाथिको कारबाही फिर्ता नभएसम्म औपचारिक वार्ता नगर्ने निर्णय लिएको हो । बैठकका निर्णय शनिबार विज्ञप्तिमार्फत् सार्वजिनक गर्ने तयारी छ ।

‘शीर्ष नेताहरु र वार्ता कमिटीकै संयोजकलाई समेत कारबाही गरेको अवस्थामा औपचारिक वार्ता सम्भव हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,’ नेता वेदुराम भुसालले भने, ‘तर, अनौपचारिक वार्ताचाँहि नगर्ने भन्ने होइन । अनौपचारिक वार्ता हुन सक्छन् । औपचारिक वार्ताका लागि कारबाही फिर्ताको विकल्प छैन् ।’

Advertisement

बैठकले अहिले एमालेमा उत्पन्न सबै समस्याको जड प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नै रहेको निष्कर्ष निकालेको छ । नेता भुसालका अनुसार यस्तो वार्ताको समय सीमा नतोकिएको तर अनन्तकालसम्म पर्खेर जान पनि नसकिने बैठकको निष्कर्ष छ । ‘वार्ता कहिलेसम्म गर्ने भन्ने समय सीमा तोकिएको छैन तर अनन्तकालसम्म पनि लम्बाउन सकिदैन भन्नेमा स्पष्ट छौँ,’ भुसालले भने ।

खनाल-नेपाल समूहका नेताहरु घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराई केही दिनदेखि ओलीपक्षका दोस्रो तहका नेताहरुसँग अनौपचारिक संवादमा रहेकै बेला खनाल–नेपाल समूहको बैठकले औपचारिक वार्ता गर्न नसकिने निष्कर्ष निकालेको हो । खनाल–नेपाल समूहका वार्ता टोलीका संयोजक भीम रावललाई भने ओलीपक्षले पार्टीको साधरणसदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।