June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

सर्वोच्चको ‘फुलकोर्ट’ सम्पन्न, नियमावली तत्काल संशोधन नहुने

145

काठमाडौं- संवैधानिक इजलास सञ्चालन नियमावली तत्काल संशोधन नहुने भएको छ। शुक्रबार सर्वोच्च अदालतको ‘फुलकोर्ट बैठक’ले यस्तो निर्णय गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको बैठक बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चलेको थियो।

बैठकमा संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन नगर्ने र अहिलेकै रोष्टरबाट वरिष्ठताका आधारमा इजलास गठन गर्ने निर्णय भएको छ।

फुलकोर्टको बैठकमा कोरोना महामारीका कारण खुम्च्याएको सेवा र संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन गर्ने अजेण्डा रहेको थियो। बैठकमा सहभागी न्यायाधीशहरूले नियमाली संशोधन भन्दा अहिले भएको रोष्टरबाटै विवादरहित रुपमा इजलास गठन गर्न सुझाव दिएका थिए।

डिजिटल रुपमा भएको बैठकमा सबै न्यायाधीशले नियमावली संशोधन गर्न नपर्ने राय दिएपछि प्रधानन्यायाधीश राणा पनि सहमत भएका हुन्। 

दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको मुद्दामा न्यायाधीशमाथि प्रश्न उठेपछि सर्वोच्च अदालत बार एशोसियसनसँग प्रधानन्यायाधीश राणाले नियमावली संशोधन गरेर वरिष्ठताका आधारमा इजलास गठन गर्ने बताएका थिए। उनले यसका लागि तयारी गर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई निर्देशन पनि दिएका थिए।

प्रधानन्यायाधीश राणाले आजैमात्र पनि संवैधानिक इजलास तोकेका थिए। उनले इजलास तोक्दा वरिष्तताको आधारमा तोकेका थिए। अब जेठ २३ गते पनि उनले यसैगरी इजलास तोक्न सक्ने अधिकार संविधान र कानुनले दिएकाले नियमावली तत्काल संशोधन नहुने भएको छ।

कोरोनाका कारण आधा न्यायाधीशहरू डिजिटल रुपमा सहभागी भएका थिए भने आधा सर्वोच्चमा उपस्थित भएका थिए। तत्काल देशभरका अदालतहरु खुल्ला गर्ने अवस्था नभएकाले हतार गर्न नहुने सुझाव पनि फुलकोर्टमा न्यायाधीशहरुले  दिएका थिए।

संविधानको धारा १३७ (१) अनुसार संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायपरिषद्को सिफारिसमा अरु चार जना न्यायाधीश रहने व्यवस्था छ।