April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

नेपालमा कोरोना संक्रमण भएका १० जनामा कालो ढुसीको समस्या

2.3K

काठमाडौं- नेपालमा कोरोना संक्रमण भएका दश जनालाई म्यकुरमाइकोसिस अर्थात कालो ढुसीको संक्रमण भएको पाइएको छ।

कोरोनाको नियमित प्रेस ब्रिफिङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना संक्रमण भई उपचाररत र निको भएका गरी दश जनामा कोलो ढुसीको संक्रमण भएको बताए। यो संक्रमण कमै मात्र देखिने बताउँदै उनले संक्रमण गम्भीर भए प्राणघातक समेत हुन सक्ने जानकारी दिए।

कोला ढुसीको संक्रमण भएका बिरामीहरुमा ज्वरो निरन्तर आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने लगायत लक्षण देखिने डा पाैडेलले बताए।

Advertisement

पाैडेलका अनुसार ४५ देखि ६५ उमेर समूह, मधुमेह तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, धेरै किसिमको एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरुलाई यसको जोखिम हुन्छ। 

एन्टीबायोटिक र स्टेरोइड औषधि चिकित्सकको परामर्श अनुसार मात्र प्रयोग गर्न उनको आग्रह छ। यो समस्याबाट बच्न सफा र सुख्खा मास्कको प्रयोग गर्न, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्न, नियमित रुपमा हात धुन, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजान मन्त्रालयलको आग्रह छ।

डा पाैडेलका अनुसार कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएको बेलामा मात्र कालो ढुसीको संक्रमण हुने उनले बताए। 

कालो ढुसीका सामान्य प्रारम्भिक लक्षणहरू :
– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने।
– ज्वरो आउने।
– आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने।
– आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने।
– नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने।
– दाँत दुख्ने वा हल्लिने।

कस्ता व्यक्तिमा बढी जोखिम?
– ४५ देखि ६५ उमेर समूह 
– मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु
– धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधीको लामो समयसम्म प्रयोग गर्नेहरु

घरमा आइसोलेसनमा बस्दा अपनाउन सकिने रोकथामका उपायहरु :
 – सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने 
– नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने।
– व्यक्तिगत स्वच्छतामा ध्यान दिने 
– घर बाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने।
– धेरै धुलो भएको र ओसिलो ठाउँमा नजान।
 – नुनिलो पानीले नाक सफा गर्ने
– पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने।
– जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने।
– मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रणमा राख्ने।
– स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने।