April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

माधव नेपाल समूहमाथिको कारबाही पुनःरावलोकन गर्ने ओलीको तयारी

2.1K

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार दिउँसो बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

बुधबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । एमालेलाई एकताबद्ध बनाउन नेताहरु आन्तरिक छलफलमा जुटेकाले समय अभावका कारण आजको बैठक स्थगित गर्नु परेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

माधव नेपाल समूहका ११ जना नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय पुनःरावलोकन गर्ने विषयमा केपी शर्मा ओली र नेपाल पक्षका नेताहरुबीच छलफल चलिरहेकाले बिहीबार बैठक बस्ने सचिव तामाङले बताए ।

Advertisement

यसअघि बसेको एमाले स्थायी कमिटी बैठकले नेता माधव नेपालसहित झलनाथ खनाल, भीम रावलसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो ।

उनले पार्टीलाई फूटबाट जोगाउन अन्तिम प्रयास थालिएको जानकारी दिए । साथै १२ जना नेतामाथि गर्ने भनिएको कारबाही पनि रोकिएको छ ।

‘१२ जना नेतालाई गर्ने भनिएको कारबाही रोकिएको छ । हामीले नेकपा एमालेलाई फूटबाट जोगाउन अन्तिम प्रयास जारी राखेका छौं । सम्भवतः भोलीसम्म केही निष्कर्षमा पुगिएला,’ उनले भने ।

सचिव तामाङले माधव नेपाल समूहलाई पार्टीमा राख्ने विषयमा हदैसम्म लचक भएर जाने बताए ।

मंगलबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीलाई उकताबद्ध गराउन पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो ।