काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आजको छलफल पार्टी एकता कसरी जोगाउने भन्ने बिषयमा केन्द्रित हुने तामाङले बताए। हिजोको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने र अर्को पक्षले अनुशासनहीन गतिबिधि जारी राखे पनि एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो।
यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।
यसअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ।