June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

सुदूरपश्चिममा नयाँ सरकार गठन प्रक्रियामा एमाले

255

काठमाडाैः नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले सरकारमा सहभागी तीन जना मन्त्रीलाई फिर्ता भएर नयाँ सरकार गठनमा सहभागी हुन निर्देशन दिएका छन् । उनले जेठ १० गतेको स्थायी कमिटी बैठकको निर्णयअनुसार सरकारबाट फिर्ता हुन तीन जना मन्त्रीलाई निर्देशन दिएका हुन् ।

उनले तीन जना मन्त्रीहरु उद्योगमन्त्री माया भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशनसहितको छुट्टाछुट्टै पत्र पठाएका हुन् ।

पत्रमा भनिएको छ, ‘जेठ १० गतेको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिइएको समर्थन फिर्ता लिने र पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिने निर्णय भएको जानकारी प्राप्त हुन आएकाले सोहीअनुसार मन्त्रीमण्डलमा भएका कमरेडहरुलाई तत्काल मन्त्रिमण्डलबाट फिर्ता हुन र एमालेको नेतृत्वमा आगामी सरकार गठनका लागि पहल कदमी लिन यो निर्देशन जारी गरिएको छ ।’

योसँगै मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाएर एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको तयारी सुरु गर्ने भएको हो । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट सभामुख सहित २५ जना सांसद रहेका छन् ।

५३ सदस्यीय सुदूर पश्चिम प्रदेश सभामा नयाँ सरकार गठनका लागि २७ जना सांसदको आवश्यकता पर्छ । सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रसंग १३, काँग्रेससंग १२ र जसपासंग दुई जना सांसद छन् ।