June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा प्रधानन्यायाधीशले आफ्नै इजलासमा पेसी तोके

90

काठमाडौं- प्रतिनिधि सभा विघटन विरुद्ध दायर भएका १९ थान मुद्दाको पेशी प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलासमा तोकेका छन्। राणाले आफ्नो एकल इजलासमा पेसी तोकेका हुन्।

वरिष्ठ अधिवक्तादेखि अधिवक्ताको प्रमाणपत्र भर्खर प्राप्त गरेकासम्मले सार्वजनिक सरोकारको रिट दायर गरेका छन्। सर्वोच्चमा प्रतिनिधि सभा विघटन सम्वन्धी ३० थान निवेदन दर्ता भएका छन्। 

नियमित इजलासमा दर्ता भएकाबाहेक अरु निवेदन संवैधानिक इजलासमा शुक्रवार पेसी तोकिएका थिए। न्यायाधीशको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने र लिखित जवाफ माग्ने बारेमा बहस हुने छ। एकल इजलासले सिधै शुक्रबारको संवैधानिक इजलासमा पठाउन पनि सक्ने छ।

संवैधानिक इजलासमा अन्य निवेदन विचाराधीन रहेकाले सँगै राखेर सुनुवाइ गर्ने भन्दै पठाउने परम्परा पनि रहेको छ। यसअघि पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको मुद्दालाई पनि यसै गरि संवैधानिक इजलासमा राखेर सुनुवाई गरिएको थियो।

सवै निवेदनहरुमा एउटै माग भएकाले यसरी संवैधानिक इजलासमा पठाउन माग गरिएको हो। १९ मध्ये चार निवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को ५ अनुसारको प्रधानमन्त्री नियुक्ति माग गरिएको निवेदन पनि रहेका छन्।

विहिबार सुनुवाइ हुने निवेदनहरुमा जेठ ७ गते राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ को ५ अनुसारको सरकार गठनका लागि आह्वान गरेको प्रक्रिया नमिलेको र यो प्रक्रियामा पनि बहुमत हस्ताक्षर पेश गरेको अवस्थामा राजनीतिक दलहरुले वुझाएको सर्मथनको प्रमाणिकरण नै नगरी मनोगत रुपमा निर्णय गरेर विघटन गरेको जिकिर गरिएको छ।

यसरी विघटन गर्दा संविधानको धारा ७६को ३ अनुसारको सरकारको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेको कार्य पनि गैरसंवैधानिक भएको जिकिर अधिकांश रिटमा गरिएको छ।