June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतालाई आतंकित पार्‍यो : कांग्रेस

245

काठमाडौँ — प्रमुख पतिपक्षी दल कांग्रेसले सरकारले कोरोना महामारीको आडमा जनतामा त्रास फैलाएको आरोप लगाएको छ ।बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सम्पन्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कांग्रेसले कोरोना नियन्त्रण र रोकथामभन्दा पनि जनतामा भए उत्पन्न गराएको ठहर गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

पछिल्लो समय सरकारले उपत्यकामा खाद्यान्न पसल पनि बन्द गराएर सर्वसाधारणमा झन समस्या उत्पन्न गराएको सहमहामन्त्री महतको भनाइ छ । ‘दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतामा आतंक पैदा गरेको छ,’ महतले भने ।

काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले जेठ १४ देखि २१ सम्म उपत्यकामा खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेका छन् ।

सानोतिनो व्यवसाय गरेर जीवन चलाउने र श्रमिकहरुलाई जीविकोपार्जनका लागि नै संकट उत्पन्न भएका बेला सरकारले राहतको व्यवस्था नगरेको पनि कांग्रेसको आरोप छ । ‘संक्रमणको आडमा जनतामा आतंक सिर्जना गर्ने र राजनीतिक स्वार्थ सिद्धि गर्ने काममा सरकार लागेको छ,’ महतले भने ।

यसअघि कोरोना रोकथाम र नियन्त्रणका लागि पार्टीले सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरेको महतले बताए । अझै पनि गाउँगाउँका कोरोना संक्रमितलाई अक्सिजन आपूर्ति र उपचारमा सरकारले ध्यान नदिएको उनको भनाइ थियो ।