June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

राष्ट्रपतिको स्वविवेकीय अधिकारविरुद्ध कतै उजुरी नलाग्ने प्रधानमन्त्रीको दाबी

265

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ लाई राष्ट्रपतिले स्वविवेकको रुपमा प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था रहेको दाबी गरेका छन्।

आइतबार पत्रकार सम्मेलन गर्दै ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको संवैधानिक धारा प्रयोगमा कतै उजुरी नलाग्ने दाबी गरे। उनले संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार बन्न समय दिएर, दाबी परेर, दाबी सदर हुन नसक्ने अवस्था देखेर राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्दै फिर्ता गरेको प्रस्ट पारे।

उपधारा ५ अन्तर्गत सरकार बन्न सक्ने अवस्था नरहेपछि प्रतिनिधिसभा विघटनबाहेक अर्को कुनै संवैधानिक व्यवस्था नरहेको ओलीको दाबी छ। ‘राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने योमात्र एउटा ठाउँ हो। त्यसविरुद्ध कहीँ उजुरी लाग्ने वा हेरफेर गर्ने ठाउँ हुँदैन’ ओलीले भने,‘प्रतिनिधिसभा विघटनविरुद्ध अहिले अपव्याख्या हुन थालेको छ।

न्वारानदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको दुरुपयोग गरेर अपव्याख्यामा उत्रिनु दुःखको कुरा हो।’ राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ उपधारा ५ अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।

त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा पनि १५३ सांसदको समर्थन रहेको दाबी पेश गरेका थिए। तर राष्ट्रपतिले दुबैको आधार नपुगेको भन्दै धारा ७६ को उपधारा ५ को प्रधानमन्त्री नियुक्ति गर्न अस्वीकार गरेकी थिइन्। राष्ट्रपतिको कदमविरुद्ध विपक्षी गठबन्धन कानुनी उपचार खोज्ने तयारीमा जुटेको छ।