June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

राष्ट्रपतिले विपक्षी नेताहरूलाई भनिन्- संविधानअनुसार निर्णय गर्छु

435

काठमाडाैं- नयाँ प्रधानमन्त्रीका लागि प्रस्ताव गर्न तोकिएको समयसीमाभित्र दुईजनाको दाबी परेपछि राष्ट्रपति विद्यादेवी भण्डारी संविधानअनुसार निर्णय लिने बताएकी छन्।

राष्ट्रपति भण्डारीले संविधानअनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्ने बताएको नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले जानकारी दिए। ‘हामीले राष्ट्रपतिलाई १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न प्रस्ताव दर्ता गर्याैं। प्रधानमन्त्री ओलीले पनि दर्ता गर्नुभएको रहेछ। राष्ट्रपतिले संविधानअनुसार निर्णय लिन्छु भन्नुभएको छ,’ उनले  भने।

उनले प्रधानमन्त्री ओलीको प्रस्तावमा सांसदहरुको हस्ताक्षर नरहेको बताए। ‘हस्ताक्षर प्रमाणीकरण गरेर निर्णय लिनुपर्ने अवस्था आउनसक्छ। प्रधानमन्त्रीमा पुन: ओलीलाई नियुक्त गर्न पहिलेजस्तो सजिलो छैन। एमालेको माधवकुमार नेपालहरुको हस्ताक्षर ओलीको प्रस्तावमा छैन,’ सांसद पोखरेलले भने। 

नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षसहित नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ। उनको पक्षमा १४९ सांसदले हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री ओलीले पनि १५३ सांसदको हस्ताक्षर रहेको दाबी गर्दै प्रधानमन्त्रीका दाबी प्रस्तुत गरेका छन्। उनको प्रस्तावमा जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले साथ दिएको छ।