March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

१० पूर्वउपकुलपतिहरूको विज्ञप्ति: जनताको अभिभावकीय भूमिकामा सरकार पूर्णतया असफल

2K

काठमाडौं– कोरोनाविरूद्धको खोप उपलब्धताबारे सरकार गम्भीर हुन पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन्। 

१० पूर्वउपकुलपतिहरूले मंगलबार एक विज्ञप्ति जारी गर्दै  खोप लिनै नपाएका जनता र खोपको पहिलो मात्रा लिइसकेकाहरूलाई तोकिएको समयभित्रै दोस्रो मात्राको व्यवस्था अविलम्ब गर्न सरकारसँग माग गरेका हुन्। 

कोविशिल्डको पहिलो मात्रा लिएको आठ हप्तामा दोस्रो मात्रा लिनुपर्ने जनताले खोप पाउन सकेको नसकेको र उमेर समूह ६० देखि ६४ वर्षसम्मकाले पहिलो मात्रा पनि पाउन नसकेको भन्दै उनीहरुले सरकारको निष्क्रियताप्रति खेद प्रकट गरेका छन्।

Advertisement

जनताको अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल प्रमाणित भएको भन्दै केदारभक्त माथेमा लगायत १० पूर्वउपकुलपतिहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोविड–१९ बाट बच्न उपलब्ध साधन भनेको अहिले पनि केवल खोप नै हो । तर नेपालमा खोप प्रयोगमा अत्यन्त अव्यवस्था र अस्तव्यस्तता देखिएको छ । न प्राथमिकता तोकिँदा सामाजिक न्यायको कदर गरियो न सबै उमेर समूहका लागि खोप पूर्ण मात्रा उपलब्ध हुने गरी वितरणमा ध्यान दियो  कमिशनखोरहरूको अमानवीय अवरोधप्रति उदासिन भएर बस्ने प्रशासनको भूमिका निकृष्टताको पराकाष्ठा हो।’यस्तो छ विज्ञप्ति 

नेपालमा कोरोना संक्रमणको गति अति तीब्र रूपमा बढेको छ र यो गति संक्रमणको उच्च गति भएका विश्वका मुलुकहरूमध्ये नेपाल पनि परेको छ । कोविड–१९ बाट बच्न उपलब्ध साधन भनेको अहिले पनि केवल खोप नै हो । तर नेपालमा खोप प्रयोगमा अत्यन्त अव्यवस्था र अस्तव्यस्तता देखिएको छ । न प्राथमिकता तोकिँदा सामाजिक न्यायको कदर गरियो न सबै उमेर समूहका लागि खोप पूर्ण मात्रा उपलब्ध हुने गरी वितरणमा ध्यान दियो । कमिशनखोरहरूको अमानवीय अवरोधप्रति उदासिन भएर बस्ने प्रशासनको भूमिका निकृष्टताको पराकाष्ठा हो । जनताको अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल प्रमाणित भएको छ ।

कोविशिल्डको पहिलो मात्रा लिएको आठ हप्तामा दोस्रो मात्रा लिनुपर्ने जनताले खोप पाउन सकेको छैन । उमेर समूह ६० देखि ६४ वर्षसम्मकाले पहिलो मात्रा पनि पाउन सकेको छैन । यी समस्याहरू सुल्झाउन सरकार के गरिरहेको छ, जनतालाई थाहा छैन । सरकारको यो निष्क्रियता प्रति खेद प्रकट गर्दै खोप लिनै नपाएका जनता र खोपको पहिलो मात्रा लिइसकेकाहरूलाई तोकिएको समयभित्रै दोस्रो मात्राको व्यवस्था अविलम्ब गरियोस् भनी हामी पूर्वउपकुलपतिहरू सरकारसग माग गर्दछौँ ।

महेशकुमार उपाध्याय                        केदारभक्त माथेमा
सुरेशराज शर्मा                                 कमलकृष्ण जोशी
नविनप्रकाश जङ्ग शाह                      कैलाशनाथ प्याकुरेल            
तोरणबहादुर कार्की                          खगेन्द्र भट्टराई             
हिराबहादुर महर्जन                          नरेशमान बज्राचार्य
 
२०७८ जेठ ४