March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

संसदीय दलको नेतालाई लिएर जसपामा थपियो किचलो

1.9K

काठमाडाैं– जनता समाजवादी पार्टी (जसपा)मा संसदीय दलको नेताको हुने भन्ने विषयलाई  लिएर फेरि किचलो थपिएको छ। जसपा एक भएपनि संसदीय दल र त्यसको विधान छुट्टाछुट्टै भएपछि दलको नेताको विषयलाई लिएर विवाद चुलिएको हो।

मंगलबार जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले ८ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि सहमति भएको घोषणा गरिएको थियो। पार्टी विभाजनको डिलमा पुगेपनि सहमतिपछि पार्टी जोगिएको भन्दै नेता कार्यकर्ताले खुसीयाली मनाएका थिए। सहमति भएको २४ घण्टा वित्न नपाउँदै फेरि जसपामा एकीकृत पार्टीको दलको नेताको हुने भन्ने विषयमा किचलो थपिएको हो।

जसपा एक भएपनि तत्कालीन समाजवादी पार्टीको दलको नेतामा उपेन्द्र यादव र राष्टिय जनता पार्टीमा महन्थ ठाकुर आफै दलको नेता थिए। संसदीय दलको नेतामा सहमति हुन नसक्दा यादव र ठाकुर दुबै आ आफ्नै ढंगले चलाएका थिए।

Advertisement

दलको नेता एउटै बनाउन जसपामा धेरै पटक बैठक र छलफल समेत भएको थियो। दलको विधान बनाउन नेताहरु समेत सक्रिय भई लागेका थिए। दलको नेतामा सहमति हुन नसकेपछि ठाकुर र यादव दुबै जनताले प्रतिनिधित्व गर्दै आएका छन्।

यद्यपि, जसपा वरिष्ठ नेता राजेन्द्र महतोले आफूले पार्टी एकता गर्दा अध्यक्ष मत त्यागेको भन्दै दलको नेता आफू हुनुपर्ने ढिपी गर्दै आएका छन्। एकीकृत पार्टीको दलको आफू भएमा एकतासमेत सम्मानजनक हुने भन्दै आफ्नो दाबी छोडेका छैनन्।

त्यसका लागि तत्कालीन राजपापक्षबाट मिलाइसकेका छन्। आफ्नो पक्षमा ३४ (दुई जना निलम्बित) मध्ये २२ जना  भएको भन्दै मंगलबार संसद सचिवालयमा दर्ता गराएका थिए। आफू दलको नेता भएको पत्र महतोले दर्ता गराए लगतै त्यसको खण्डन गर्दै उपेन्द्र यादवले आफू दलको नेता भएको पत्र संसद सचिवालयमा दर्ता गराएका थिए।

यादव पक्षले आफ्नो पक्षमा १८ जना सासद भएको दाबी गरेका छन् । संसदीय दलको नेता यादव नै भएको पत्र मंगलबारै संसद सचिवायमा दर्ता गराएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए। तर, जसपाका नेता नवराज सुवेदीले जसपा संसदीय दलको नेतामा विषयबस्तु नै प्रवेश नगरेकाले दलको नेतामा ठाकुर र यादव दुबै भएको जिकिर गरे।

राजेन्द्र महतो दलको नेता भएको विषयमा दुई अध्यक्षको हस्ताक्षर नभएकाले एक पक्षिय रुपमा दलको नेता बनाएको हुन सक्ने सुवेदीले बताए।  ‘मंगलबार २ अध्यक्षको सहमति हुँदा त्यस विषयमा छलफल भएको छैन। संसदीय दलको नेताको विषयमा अब बस्ने कार्यकारिणी समिति बैठकमा छलफल भई निर्णय हुन्छ त्यसपछि टुंगो लाग्छ’ सुवेदीले भने।