March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

बाहिरकाले पनि लगाएका भन्दै संसद् सचिवालयले स्थगित गर्‍यो खोप कार्यक्रम

3.1K

काठमाडाैं : संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ। संसदसँग मात्रै सरोकार राख्नेभन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो।

संसद सचिवालयले माग गरेको भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरू भएपछि खोप अभाव भएको हो। संसदसँग सरोकार राख्नेभन्दा बाहिरकाले खोप लगाएपछि संसद सचिवालयकै कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार, सुरक्षाकर्मीहरू दोश्रो खोप लगाउनबाट बञ्चित भएका छन्।

संसद सचिवालयले सिभिल अस्पतालमा कोभिडसिल्डको पहिलो खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखेको थियो।

Advertisement

सोही कार्यक्रमअनुसार संसद सचिवालयसँग सम्बन्धितहरूले पहिलो डोज लगाएको संख्याको आधारमा स्वास्थ्य मन्त्रालयसँग खोप माग गरेको थियो। सचिवालयले अघिल्लो डोज १४ सय ६५ खोप मागेर भीड नहुने गरी खोप लगाउनका लागि ३ दिनको कार्यतालिका सार्वजनिक गरेको थियो।

कोभिसिल्ड खोपको दोश्रो डोजको सुनिश्चितता हुन नसक्दा सांसदका परिवार, आफन्त, नजिकका, कर्मचारीका परिवार, आफन्तलगायत पनि खोप कार्यक्रममा सहभागी भए।

इन्टरनेट सेवा प्रदायक संस्था क्यासिक टेक, केयुकेएललगायत संस्थाका कर्मचारीले पनि खोप लगाएका थिए। सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले दोश्रो डोजको सुनिश्चितता नहुँदा सांसदका परिवार, आफन्त, नजिकका मान्छे अनि संसद सचिवालयभन्दा बाहिरका सहभागी हुँदा समस्या भएको बताए।

संसद् सचिवालयले १४ सय ६५ खोप माग गरेकोमा दुई दिनमा १७ सय २९ खोप लगाइएको छ। जेठ १ गते ९ सय ५० जनाले र वैशाख ३१ गते ७ सय ७९ जनाले खोप लगाएका छन्।